मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । 

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला(धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा आज महोत्तरी जिल्लाका गाउँ नगर बस्तीमा बिहानैदेखि युवा पङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको  मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताउनुभयो ।

पर्वमा खास गरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउनुहुन्छ ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरी डाँडा वन पार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुनिल दाहालको भनाइ छ ।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश वध गर्न पूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ । 

इच्छित कामना पुरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला ९धातृ० को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा विमल बताउनुहुन्छ । अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन् ।रासस

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : १३ बजे