रविलाई भोलि काठमाडौं ल्याइने

जुत्ता चप्पलको व्यापार मेला सुरु

काठमाडौँ, – फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आजदेखि व्यापार मेला सुरु गरेको छ । आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

एशोसिएशनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिनुभयो । उहाँले अहिले कच्चापदार्थ आयातमा समस्या रहेकाले मागअनुसारको उत्पादन हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताउनुभयो । 

मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ । एशोसिएशनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

रासस

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ५६ बजे