सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा.तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतम बुद्ध विमानस्थलमा साढे दुई अर्बको बुद्ध मूर्ति राखिएको थियो ।

दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवर्द्धन, स्पेनिस र नेपाली भाषा एक अर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्व बीच शैक्षिक प्रवर्द्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरूसहित बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहमति भएको हो । 

सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा.सञ्जीव हुमागाईँले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिरहेको भन्दै यसले आगामी दिशा निर्दिष्ट गर्ने बताउनुभयो । कोर बुद्धिष्ट दर्शनलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उहाँले बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको भन्नुहुँदै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्ध मूर्ति राखेर काम थालेको बताउँदै शिक्षाका क्षेत्रमा पनि काम हुने उहाँले बताउनुभयो । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले फाउन्डेसनले बुद्ध स्थलको प्रवर्द्धनमा महत्त्वपूर्ण काम गरेको भन्नुहुँदै विश्वविद्यालयसँगको सहकार्यले थप टेवा पुग्ने बताउनुभयो  । विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ३४ बजे