राष्ट्रपतिको तथ्यांक संकलनबाट शुरुभयो देशभर जनगणना 

काठमाडौं । आजबाट देशभर राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै जनगणना सुरु भएको हो ।
राष्ट्रपतिको जनगणना गर्न तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयम्ले जवाफ दिनुभएको थियो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बिहान ९ बजे गणक टोली शीतलनिबास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरेको हो । जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ ।

राष्ट्रपतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिँदै छ । साँझ ५ बजे एमाले अध्यक्ष ओलीको जनगणना लिने कार्यक्रम छ । साथै देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ११ : १३ बजे