महागुरु फाल्गुनन्दको यात्रा : विश्वयुद्धको लडाइँदेखि समाज सुधारकसम्म

​​​​​​​काठमाडौँ । किराँत धर्मका महागुरु भनेर चिनिनुभएका फाल्गुनन्द लिङ्देनको आज जन्म जयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिनुभएका उहाँ २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिनुभएको थियो । उहाँको न्वारनको नाम भने नरध्वज लिङ्देन हो । 

समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उहाँको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्म जयन्ती धूमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गरी फाल्गुनन्दको जन्म जयन्ती मनाइँदै छ । 

उहाँले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे 'सत्य धर्म मुचुल्का' २४ वैशाख १९८८ मा पारित भएको थियो । 

समाज सुधारका लागि उहाँले जारी गर्नुभएको सात बुँदे सत्य धर्म मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उहाँको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञान भूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थ भूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ । 

उहाँले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इन्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ ।

फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : १७ बजे