यस्तो छ आजको विनिमय दर

राष्ट्रिय जनगणनाको मूल गणना आजबाट, राष्ट्रपतिबाट तथ्याङ्क सङ्कलन गरेर सुरुवात गरिँदै

काठमाडौँ । नेपालमा १२ औँ राष्ट्रिय जनगणनाको मूल गणना आज बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज बिहान ९ बजेपछि १२औँ राष्ट्रिय तथ्याङ्क सङ्कलन कार्यक्रमको सुरुवात हुनेछ । 

त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । 

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण ढिलो गरी जनगणना भइरहेको हो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको पहिलो जनगणनाको मूल नारा– ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । मूल गणना ९ मङ्सिरमा सम्पन्न हुनेछ ।

२०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र २०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ । 

देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समय सीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदैछन् । 

जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औँ जनगणना करिब डेढ अर्ब खर्च भएको थियो । तर, यस पटक ४ अर्ब खर्च हुने अनुमान गरिएको छ । खर्च बढ्ने पहिलो कारण यस पटक पूरा तलब दिएर गणकलाई खटाइएको छ ।

११औँ सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो । शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो । तर, यस पटक तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पुरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।

जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुनेछ । केन्द्रीय तथ्याङ्क विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यस पटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पुरा भत्ता दिइने छ । जसका कारण यसपटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ । 

यस पटक तथ्याङ्क विभागले जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ । यस पटकको जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् । लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क सङ्कलन गर्न धेरै समय लाग्ने छ । 

यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताउनुभयो । “विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ,” उपसचिव रेग्मीले भन्नुभयो, “तर नेपालमा धेरै कुरा गणनाबाट नै सङ्कलन गरेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, बिस्तारै प्रश्नावली सङ्ख्या घटाइने छ ।”

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : २९ बजे