उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

सप्तरी । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । 

परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ ।

पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँ गाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।

छठ पर्वमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुने गरेको सन्ध्या देवले बताउनुभयो। मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । 

दिनानुदिन छठमाई प्रतिको आस्था बढ्दै गएकाले अहिले हिन्दु मात्र नभई केही अन्य धर्मावलम्बीहरूले पनि मनाउन थालेका छन् । यो पर्व  मनाउँदा चर्म रोग निको हुने, पुत्र लाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ०७ बजे