छठ पर्वको आज दोस्रो दिन, खरना विधि पूरा गरी मनाइँदै

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । 

छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । 

सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्त्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । 

छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । 

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई  समापन गरिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ५० बजे