पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङ अहिले पुष्टि हुँदैछ : अध्यक्ष ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको थियो भन्ने पुष्टी भएको बताउनुभएको छ ।

आज विराटनगरमा आयोजित पार्टी कार्यक्रममा अध्यक्ष ओलीले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गर्नुभएको हो ।

‘कसरी सेटिङ भएको रहेछ भन्ने बारे न्यायाधीशहरु अहिले आफैं भन्दै हुनुहुन्छ । कसका कसलाई मन्त्री बनाइदिने, राजदूत बनाइदिने  र कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । अरु भित्रभित्रै सेटिङ र के के लेनदेन भयो अझै खुल्न बाँकी होला’ उहाँले बताउनुभयो ।

संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको ओलीले बताउनुभयो । उहाँले उक्त फैसला संविधान विपरीत भएको दाबी गर्नुभयो ।

‘हामी डेमोक्रेटिक सिस्टटमा अदालत स्वतन्त्र मर्यादामा रहोस् मर्यादित हैसियतमा रहोस् भन्ने गर्दछौं । तर दुखका साथ भन्नुपर्छ( हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । सम्मानजनक, निष्पक्ष र संविधान बमोजिमको फैसला गरेन । संविधान भन्दा बाहिर गएर फैसला गर्‍यो’ अध्यक्ष ओलीले बताउनुभयो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ४२ बजे