छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै

काठमाडौँ । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेसमा मनाइने छठ पर्व आज आजदेखि विधिवत् रूपमा सुरु भएको छ । 

कार्तिक शुक्ल चतुर्दशी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । 

यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्त्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । 

छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । 

यो पर्व तराई मधेससहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभई भारतमा समेत धूमधामका साथ मनाइन्छ । 

अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । 

परापूर्व कालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ ।

त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसङ्ग महाभारतमा उल्लेख छ ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : १९ बजे