साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिसी क्यामरा जडान गर्न देउसी भैलो

दमौली ।  रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसी भैलो खेल्ने क्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसी भैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । 

व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसी भैलो खेलेर रकम सङ्कलन गरेका छन् । 

३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसी भैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिनुभयो । “यस टोलमा सिसी क्यामरा जडान गर्न अति आवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ”, उहाँले भन्नुभयो । 

बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पुर्‍याउने उद्देश्य लिएर आफूहरूले देउसी भैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताउनुभयो । 

टोलवासीको सल्लाह र सुझावले नै आफूहरूले सिसी क्यामेरा जडान गर्न देउसी भैलो खेल्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार देउसी भैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ ।

सामाजिक भावना राखेर आफूहरूले खेलेको देउसी भैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको संस्थाका सदस्य गौरी थापाले बताउनुभयो । तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलो पटक झिलिमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो ।रासस 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ०३ बजे