तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु

काठमाडौं । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।

यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो ।

भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो ।

कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना रहेको प्रमुख कार्कीले बताउनुभयो ।

‘यो नन सेडुल प्रादेशिक उडान हो । सेडुल प्राप्त भएपछि हामी नियमित उडान गर्ने छौँ ।’ उहाँले भन्नुभयो । प्रमुख कार्कीकाअनुसार तारा एअरका चारवटा जहाजमध्ये दुईवटा जहाज नेपालगञ्ज र पोखरा बेस रही उडान गर्दैआएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  २ : ४४ बजे