सडक दुर्घटना रोक्न राखिएका ऐना नै असुरक्षित

लमजुङ – डुम्रे–बेसीसहर सडकखण्डअन्तर्गत पर्ने लमजुङका सडकमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षामा चुनौती देखिएको छ । सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जडान गरिएका अधिकांश ऐना फुटेका छन् । 

लमजुङको पाउँदी–बेसीसहर सडकखण्डमा पर्ने तीखो मोडमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी नायव निरीक्षक विष्णु नेपालीका अनुसार सडक डिभिजन कार्यालय दमौलीले लमजुङअन्तर्गत पर्ने सडकमा ६ वटा ‘कन्भेक्स मिरर’ राखेको हो ।

लमजुङको पाउँदी–बेसीसहर सडकखण्डअन्तर्गत विभिन्न सडक घुम्तीमा राखिएका ६ वटा मिररमध्ये तीन वटा कामै नलाग्ने गरी टुटफुट भएका छन् । तीन वटाले मात्र काम गरिरहेका छन् । सडकखण्डको सिउँडीबार, रामादी र दलालस्थित सडक घुम्तीमा राखिएका मिररले मात्र काम गरिरहेका हुन् ।

सडकखण्डअन्तर्गत सुन्दरबजार नगरपालिका वडा नम्बर ८ मा पर्ने अकलाको डुँड्कुलास्थित सडक घुम्तीमा राखिएको मिररको सबै भाग फुटिसकेको छ । मिररको फलामे स्ट्याण्डमात्रै बाँकी छ । त्यसैगरी, यसै वडाभित्र पर्ने भुत्याहा खोला नजिकैको सडक घुम्तीमा रहेको मिरर पनि क्षतिग्रस्त छ ।

ऐनाको सबै सिसाको भाग फुटेर खेर गएको छ । मिररको पछाडिको प्लास्टिकको भाग (कभर) र स्ट्याण्डमात्रै बाँकी छ । सडकखण्डमै पर्ने भकुण्डेस्थित सडक घुम्तीमा राखिएको मिरर पनि क्षतिग्रस्त छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने सुन्दरबजार नगरपालिका–८, का वडाध्यक्ष कृष्णकान्त अधिकारीले बताए ।

‘आफ्नो वडाअन्तर्गत पर्ने विभिन्न सडक घुम्तीमा राखिएका तीन वटा ऐना मध्ये दुई वटा काम नलाग्ने गरी टुटफुट भएको छ । एउटा ऐनाले भने काम गरिरहेको छ,,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयले पनि चासो देखाउनु आवश्यक छ ।’ सडक घुम्तीमा राखिएका मिरर टुटफुट भएको देख्दा सरोकारवालाले दुःख व्यक्त गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी जवान ढाकाराम पौडेलका अनुसार सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’बाट सवारी चालकलाई परैबाट सवारी आए–नआएको थाहा पाउन सहज हुन्छ । यसले गर्दा घुम्तीमा सवारी एक्कासि ठोक्किने सम्भावना रहँदैन । 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ८ : १२ बजे