जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्याधिक

जनकपुरधाम – जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ ।  

दीपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो ।

तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचाे लागेको छ । केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् । 

व्यापारीहरूले आफ्नाे पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताए । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उनले बताए ।  

बिहीबार मात्रै जनकपुर बजारमा करिब चार-पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करिब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उनले बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ५६ बजे