साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । 

मङ्गलवार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो । 

उपाधिसँगै शुसितमले रु ७७ हजार ७७७ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले रु ३३ हजार ३३३ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिए पनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै  समेटियो । 

कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिनुभयो । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिनुभयो । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल हुनुभयो । 

त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाउनुभयो । बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिनुभयो । 

यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिनुभएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज हुनुभयो । उहाँले रु पाँच हजार ५५५ पुरस्कार प्राप्त गर्नुभयो । 

शुसितमका लागि १३४ रन बनाउनुभएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । शुसितमका लागि १६ विकेट लिनुभएका किरन कार्की उत्कृष्ट बलर हुनुभयो । दुवैले समान रु तीन हजार ३३३ पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगिताका विजेता र उपविजेता टोली तथा खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गर्नुभयो । 

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोली सहभागी थिए ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो । रासस 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : १३ बजे