महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई  प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । विभिन्न जाती र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई प्रभावकारी बनाउनु पर्नेमा सांसदहरूले जोड दिनुभएको छ । 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च(निफ)ले सातै वटा प्रदेशका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा सांसदहरूले महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई  प्रभावकारी बनाउनुपर्नेमा  जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तरगत संसद् सहयोग परियोजनासँगको सहकार्यमा निफले यही कात्तिक १२, १३, १५ र १६  गते सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । 

४ दिनसम्म सञ्चालित भर्चुअल अन्तरक्रिया कार्यक्रममा ४ वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरूले सहजीकरण गर्नुभएको थियो ।  

कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैङ्गिक समानता र सामाजिक समावेशिता विज्ञ पेम्बा लामाले लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध बारे प्रस्तुति गर्नु भएको थियो भने दोस्रो दिन अधिवक्ता डा. कुन्साङ योञ्जनले स्व–निगरानी र स्व–मूल्याङ्कन विषयमा छलफल सञ्चालन गर्नुभएको थियो । 

त्यसै गरी, कार्यक्रमको तेस्रो दिन पारस्परिक सञ्चार र सम्झौता प्रक्रिया विषयमा सञ्चारकर्मी अमरध्वज लामाले अन्तरक्रियाको सहजीकरण गर्नुभएको थियो । साथै, चौथो तथा अन्तिम दिन योजनाविद्  रामशरण प्याकुरेलले व्यक्तित्व विकास बारे सहजीकरण गर्नुभएको थियो । 

नेपालको सङ्घीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च(निफ) सँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद् सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डा.राजबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले आगामी वर्षमा समेत यस किसिमका कार्यक्रमहरूको आयोजनामा सघाउने युएनडिपीको योजना रहेको जानकारी दिनुभयो । 

त्यसै गरी, संसदीय सहयोग कार्यक्रम(युएनडिपी) का संसदीय मामिला टोली प्रमुख डाक्टर यामबहादुर किसन, निफका उपाध्यक्ष यशोकान्ती भट्टचन, महासचिव कृष्णकुमारी  वाइवा लगायतले प्रदेशसभामा विभिन्न जाती र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई  प्रभावकारी बनाउन  सो भर्चुअल अन्तरक्रियाले सघाउने विश्वास व्यक्त गर्नुभयो ।  

सो कार्यक्रममा पूर्व मन्त्री करिना बेगम, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (विष्ट) लगायत विभिन्न समुदायका ३० जना महिला सांसदहरूले अन्तरक्रिया गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : १७ बजे