अध्यक्ष ओलीद्वारा माडी अयोध्याधामस्थित राम मन्दिरको दर्शन

चितवन – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । ओलीले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गर्नुभएको थियो ।

माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक ओलीले स्थलगत अवलोकन गर्नुभएको हो । अयोध्याधाममा ओलीलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका थिए । 

दुईदिने विभिन्न कार्यक्रममा सहभागी हुन ओली सोमबार चितवन आउनुभएको थियो ।  प्रधानमन्त्री भएका बेला ओलीले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशनदिनुभएको थियो । गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।

माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राम मन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाउने गरेका छन् ।  

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ०७ बजे