हो यसै कारण आवश्यक छ भ्रष्टाचार विरुद्धको जागरण अभियान

           देशमा राजनीतिक दलहरूले पार्टी भित्र र आमजनताको बिचमा पनि भ्रष्टाचार विरुद्धको जागरण अभियान सञ्चालन गर्नु आवश्यक रहेको छ भन्ने कुरा लेख्दै बोल्दै आएको छु । नेपालका राजनीतिक दलहरूले भ्रष्टाचार विरुद्धको जागरण अभियान पार्टी भित्र मात्र होइन, राष्ट्रसेवक कर्मचारीहरू मुख्य सचिवदेखि पिउन सम्ममा, न्यायालयमा प्रधान न्यायाधीश देखिन पिउन सम्ममा, प्रहरी सेवामा आइजिपी देखिन कन्सटेवल सम्ममा, राजनीतिक क्षेत्रको पनि प्रधानमन्त्री देखि पालिका तह  सम्म र आम जनताको पङ्गतीलाई पनि सुसूचित गर्ने गरी सञ्चालन गर्नु पर्छ भन्ने विचार राख्दा कतिपय जिम्मेवार ठाउँमा बस्ने महानुभावहरूले भन्ने गर्दथे किन चाहियो तपाईँको “भ्रष्टाचार विरुद्धको जागरण अभियान” ? यहाँ प्रहरी छ यहाँ अदालत छ, यहाँ अख्तियार छ , यहाँ सरकारका धेरै भ्रष्टाचार विरुद्धमा काम गर्ने निकायहरू छन् । मेरो कुरालाई कतिले खिसीटिउरीको विषय बनाए भने, कतिपयले मलाई मौकामा चौका हान्न नसक्ने बुद्धु पनि ठाने । अझ कतिपयले बुद्धि नभएको उल्लु पनि ठान्ने गरेका छन् । कतिपयले भ्रष्टाचार विरुद्धको जागरण अभियानको कुरा चलाईस भने तेरो ढाड बलियो बनाएर हिँड्नु भन्ने शुभ सन्देशहरू पनि मित्रहरूबाट सुन्दै र भोग्दै आएको छु । मैले उहाँहरूलाई भन्ने गरेको छु यो अभियान चलाउने काम यदि हामीले गरेनौ,राज्यलाई यो अभियान चलाउन दबाब सृजना गर्न सकेनौँ भन, यही भ्रष्ट नीति र चरित्रका कारणले दलहरू मात्रै खाल्डोमा जाकिने होइनन् देशमा जनताको बलिदान बाट प्राप्त सुशासनको मृत्यु त हुने नै छ, देश पनि नराम्ररी अशान्ति र कलहको दलदलमा फस्नेछ भन्ने जिकिरमा सत्यता बढिरहेको छ । व्यक्तिहरूले मात्रै होइन, यो देशले नराम्ररी रुने दिन आउने छ । व्यक्तिका महत्त्वाकाङ्क्षा यति बढ्ने छन्की तिनले आफ्नो स्वार्थ, पैसा र पावरको धन्दा भन्दा अरू केही पनि देख्ने छैनन् । विधि पद्धति संस्कार संस्कृति सबै समाप्त हुनेछन् । स्वार्थका कारणले तिनले मूल्यमान्यता सबै बिर्सेर स्वार्थ भन्दा पर हेर्न सक्ने क्षमता सबै गुमाउनेछन् । स्वार्थी चरित्रको कारणले आँखा भएर पनि अन्धा हुनेछन्, कान भएर पनि वैरा हुनेछन्, विवेक हराएको मस्तिष्कले तिनलाई पागल बनाउने छ भने जनताले पूजा गरेका भगवानका रूपमा देखेका महानायकहरू राक्षस स्वभाव भएका तुच्छ पात्रमा परिणत हुनेछन् । यो अन्तर आत्माले २०३३÷३४ सालमा ताप्लेजुंङ्गको शिक्षा शाखामा मुखियाको पदमा रहेर देखेको विषय, शिक्षक हुँदा देखिन जनपक्षकलाको प्रधानपञ्चको प्रत्याशी हुँदै गाविस अध्यक्षको कुर्सीबाट पनि देखे,भोगे । जिल्ला विकास समितिको सदस्य देखिन् पार्टीको नेतृत्वमा रहँदा होस् वा विभिन्न सङ्घसंस्थामा बसेर काम गर्दा देखिन् पछिल्लो समयमा साझा प्रकाशन जस्तो देशको गरिमा बोकेको १०८ वर्ष पार गरेको पुरातात्त्विक महत्त्वको ऐतिहासिक संस्थाको महाप्रबन्धकको कुर्सीमा बसेर हेर्दा पनि मेरो आँखाले देखेको आधारमा नै भ्रष्टाचार विरुद्धको जागरण अभियान राजकीय क्षेत्रबाट नै सञ्चालनको लागि आवश्यकता रहेको छ । यसमा जनताको पनि उतिकै चासो र सरोकारको विषय रहनुपर्छ । जनसहभागिताको परिवर्तन कुनै पनि अर्थमा असम्भव छ । अनियमितता र बेथितिको मार भनेको आमजनतालाई असर पु¥याउने विषय हो । सबैभन्दा धरै किसान,महिला र तल्लो वर्गका आमजनतालाई यसले सताई रहेको छ । भ्रष्टाचारकै कारणले महँगी बढ्ने गरेका छन् । देशमा राजनैतिक अस्थिरताको मूल कारण पनि यसले गर्दा नै हुने गर्दछ । देशमा विभिन्न प्रकृतिका असामाजिक गतिविधि बढ्नु विदेशी चलखेल बढ्नु देशमा विकास नहुनु सबै भ्रष्टाचारका उपज हुन् । बिना परिश्रम धन आर्जन गर्ने मूलबाटो नै भ्रष्टाचार र अनियमितता हो । देशमा लामो समय देखिको यही प्रवृत्ति बोकेका भ्रष्ट दलालहरूको कारणले नै विभिन्न गठ जोडको एकता सम्भव भयो । उही चरित्र भएकाहरूको कारणले नै केपी ओली नेतृत्वको सरकार ढाल्ने मुख्य अस्त्र सम्भव भएको हो । यो कहिले कता यो कहिले कता हुँदै कुमतिले रूप फेरी रहेको हुन्छ । झन् ठुला भ्रष्टाचारीले झन् ठुला सपना देखाउँदा रहेछन् भन्ने उदाहरण हाम्रो अगाडि बग्रेल्ती रहेका छन् । 

            भ्रष्टाचारलाई यहाँ आर्थिकमा मात्रै हेर्ने गरिन्छ । भ्रष्टाचार आर्थिक लेनदेनको कारोबार मात्रै होइन । आर्थिक भन्दा डरलाग्दा भ्रष्टाचार यहाँ रहेका छन् । तर पनि तुरुन्तै काम चल्ने व्यवहारमा पनि प्रयोग गर्न सहज भएकोले ध्यान आर्थिकमा मात्रै केन्द्रित रहनु स्वाभाविक नै रहेको मान्नु पर्दछ । आर्थिक बाहेकका राजनीतिक भ्रष्टाचार, धार्मिक भ्रष्टाचार, सामाजिक भ्रष्टाचार र सांस्कृतिक भ्रष्टाचार जो देखिँदैन वा कम प्राथमिकतामा पर्दछन् । त्यो देश र जनताको लागि झन् त्यति नै खतरा रहेको छ । हिजो आज नेपालमा क्रिश्चियन बनाउने र बन्ने कुरा धार्मिक भ्रष्टाचार भित्र पर्दछ भने निवर्तमान प्रधान मन्त्री के.पी.शर्मा ओलीलाई अदालतको आडमा हटाएर परमादेशको सरकार निर्माणको आदेश घण्टा,मिनेट तोकेर निर्णय दिनु न्यायिक भ्रष्टाचारमा पर्दछ । सुगौली सन्धिबाट नेपाल खुम्चिनु राजनैतिक भ्रष्टाचारको उपज हो भने बुद्ध भारतमा जन्मेका हुन भनेर आफ्ना आधिकारिक दस्ताबेजहरू जस्तै पाठ्यपुस्तकमा छपाएर भारतले गलत प्रचारप्रसार गर्नु अर्को झन् डरलाग्दो धार्मिक सांस्कृतिक भ्रष्टाचार हो । विकाश निर्माणमा देखिने प्राविधिक भ्रष्टाचारको अनुभूति धेरैले मनन गरेको विषय हो । यसरी नीतिगतरुपमा हुने भ्रष्टाचारका रूपहरू न्यायालय मै बग्रेल्ती रहेका छन् । भ्रष्ट मनोवृत्ति कारणले नै हरेक ठाउँमा ईमान्दारले ठाउँ पाउँदैनन् । त्यहाँ पनि उनै भ्रष्ट बिचौलियाको चल्तिफिर्ति बढ्दै जानेछन् । पढेलेखेका मुठ्ठीभर कथित विद्वानहरूको कुमतिले आज हर क्षेत्र कुरूप बनेको परिस्थितिमा यस विरुद्धको जागरण अभियानको विकल्प नै रहेन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो गरिमामय जिम्मेदारीमा पुगेको व्यक्ति श्रीमान् गोपाल पराजुलीले केही महिनाको सीमित पैसाको लोभले गर्दा आफ्नो उमेरको प्रमाणपत्र त किर्ते गरेका रहेछन् भने अन्यको त तुलनै नगरौँ । जति भएर पनि नपुग्ने अगस्ति प्रवृत्ति नै अनियमितताको जड हो । सबैलाई न्याय दिनु पर्ने मानिसहरू नै भ्रष्ट छन् भन्ने दरिलो प्रमाण सर्वोच्च अदालतका मा.न्यायाधीश श्रीमान् हरि कृष्ण कार्कीको प्रतिवेदनले आफै बोली सकेको छ । नैतिक रूपमा वर्तमान बहालवाला प्रधान न्यायाधीशले तत्काल छानबिन नथाल्नु र बाहिरबाट त्यो प्रतिवेदन कार्यान्वयन गर्न दबाब दिँदा पनि कार्यान्वयन नगर्नु नै अर्को भ्रष्टाचारको उदाहरण हो । भनिन्छ कुरो र कुलो जता लग्यो त्यतै जान्छ । हरतरहको दुनो सोझ्याएर बिङ्गा लगाउन सक्नेले आफ्ना बचाउमा जस्तो सुकै कदम चाल्नेछन् । अध्यात्म विज्ञानको ज्ञान जति धेरै टाढा हुनेछ त्यति नै अपराध र भ्रष्टाचारीले डेरा जमाउने पक्का रहेछ । बिना श्रम पैसा बर्सने भए पछि आज सबै क्षेत्रमा मूल्य मान्यता स्खलित हुँदै गएको छ । यो कोरोनामुखी भ्रष्टाचारको विरुद्धमा हर क्षेत्रमा भइरहेको ईमान्दार पंङ्गितले यस विरुद्धको जागरण अभियान सञ्चालन गरेर जनतालाई जागरण नगराउने हो भने सबै ईमान्दारहरु पनि एक दिन तिनै अपराधीको साक्षी बस्नुको विकल्प रहनेछैन ।     

            भ्रष्टाचार विरुद्धको जागरण अभियान आजको राष्ट्रिय आवश्यकता हो । व्यक्ति धनी राज्य कङ्गाल,व्यक्ति धनी संस्था कङ्गाल बनाउने यो चरित्रको शृङ्खला लामो छ । यो वर्तमानमा खुलेआम नग्न किसिमले प्रकट भएका हुन् । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरुद्धको जागरण अभियान सञ्चालनको लागि अनुरोध यसै कारणले गरेको हुँ । यसमा अधिक भन्दा अधिक राजनेता तथा राष्ट्रसेवकहरू सुशासनको पक्षमा भएर पनि मुट्ठीभरका बिचौलियाले आज हर क्षेत्रमा छाया पारेका छन् । जो अगुवा उही बाटो ……भन्ने उखान चरितार्थ भएको छ । राजनेताहरूको असफलताको कारण पनि यही नै हो । २०१७ सालको बिपी कोइरालाको सरकार होस वा वर्तमान मा ओली सरकारको विघटन यही भ्रष्ट मनो वृत्तिको परिणाम हो । बिना परिश्रम बिना पसिना धन आर्जनको उद्योग हो भ्रष्टाचार । 

            मानिसको उत्पत्ति नै श्रमको उपज हो भन्ने विषय अनेक तथ्य र प्रमाणले पुष्टि गरेको विषय हो । लक्का जवान छ, घरमा असी नब्बे वर्षका बाबु आमा काम गरेर ढुङ्गो फुटाएर दुबो उमारिरहेका हुन्छन् भने लक्का जवानहरूको गलत मनोवृत्तिको खेतीपाती अन्सिनमा कुदिरहेको हुन्छ । पारदर्शिता नभएको राजनीतिज्ञ वा राष्ट्रसेवक नै भ्रष्टाचारको अभियन्ता हो । हो शारीरिक रूपमा कोही बलियो र केही दुब्लो हुन सक्तछ । कसैले कम र कसैले बढी क्षमता हरेकमा अवश्य पनि हुन्छ । आम जनता र कार्यकर्तालाई देश विकासमा राजनीतिक परिवर्तनको आन्दोलनमा जस्तै किन नीति बनाएर परिचालन गरिँदैन ? देश बनाउने सम्बन्धमा, जनसमस्या सम्बन्धमा कुनै पनि दल र तिनका नेतृत्वले राउण्टेवलमा बसेर यो समस्यामा समाधान कसरी गर्ने भनेर खोज्दैनन् ? नखोज्नुको पछाडि सामुहिताको ठाउँमा निजात्मकताको वकालतले नै ७०÷७१ वर्ष देखि नै नेपाली समाज रुमलिइरहेको छ ।  आजको दिनमा दक्षिणको भारत र उत्तरको चीनलाई हामी हेर्न सक्छौ भुक्तैमा त परिवर्तन नहुँदो रहेछ । भारतमा कसैको पनि त्यति भारी समर्थक छैन जो उत्तरी देशमा अमेरिकाको रिसर्चमा पनि ९५%जनता राष्ट्र प्रमुखको पक्षमा रहेको रिपोर्ट केही समय अगाडि बिबिसीले बताएको थियो । सही नीति नहुने र जन समस्या सम्बोधन नभएको भए जनचाहनाअनुसारको काम नभएको भए आज चीनले बन्दुकको भरमा मात्रै दबाएर राख्न सम्भव हुने थिएन । भ्रष्टाचारीलाई तिनले सधैँ भरीका लागि मानव चोलाकै उपचार गरी दिएका घटना सुनिन्छ । सुशासन र परिश्रमबाट समृद्धि सम्भव छ भन्ने कुराको उदाहरण संसार भर धेरै पाउन सकिन्छ । हाम्रो मात्रै देश कैयौँ समय व्यतीत गरेर पनि झन्डै जहाँको त्यही  जस्तै छ । विगतमा भन्दा धेरै पर निर्भरता बढी रहेछ ।  कतै वृद्ध र असक्षमहरूको देश त बनिरहेको छैन । यहाँ यिनै भ्रष्ट मनोवृत्तिले राम्रो काम गर्न खोज्ने जो कोहीलाई पनि काम गर्नबाट वञ्चित गर्नेछन् त्यसको पछाडिको मूल कारण नै स्वार्थ र भ्रष्ट मनोवृत्ति परिणाम हो । नेकपा एमालेले ल्याएका नीतिहरूले देशको सम्बोधन गरेको पछिल्लो समयलाई निकाली दिने हो भने देशमा ०४६ पछिका सरकारहरू जनताको लागि नभएर नेताहरूको लागि मात्रै विकास गरेका छन् भन्ने जनआरोपमा सत्यता छैन भन्न सकिने अवस्था छैन । देशलाई समृद्ध बनाउने हो भने वर्तमान नीतिमा आमूल परिवर्तन जरुरी रहेको छ । त्यसमा पनि आफैभित्रको शुद्धीकरणको आन्दोलन हो भ्रष्टाचार विरुद्धको जागरण अभियान । विशिष्ट र राजकीय जिम्मेदारी हुनेहरूले पनि आमजनताको प्रोत्साहनको लागि पनि बेला बेलामा श्रम शिविरहरूको आयोजना गरेर जनताको नेताहरू जनताको साथमा रहेर नै बेथितिको अन्त्य गर्न सकिन्छ । सत्ता प्राप्तिको आन्दोलनका जालझेल आरोप प्रत्यारोपको तिकडम छोडेर सदाचारको अभियानमा जुटौँ । उनै जनता जनार्दनले तपाईँलाई सत्तासीन गराउनेछन् । पराईको लागि कम्फर्टेबल सरकार निमार्ण नै राजनीतिक भ्रष्टाचारको उच्च रूपमा रहेको पाइन्छ । देशको समृद्धि र विकासको लागि भ्रष्ट्राचार विरुद्धको जागरण अभियान राष्ट्रिय आन्दोलनको मूल एजेन्डा बन्नु पर्दछ । यदि यो अभियान नेपालका ठुला राजनीतिक दलहरूले सञ्चालनमा चुके भने धेरै सिपी, बामदेव, माकुने, पुष्पकमल र सेर बहादुरहरूको निरन्तर पुनरावृत्ति भइनै रहनेछ ।
 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ५७ बजे