दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोभिडबाट मृत्यु हुने ५० लाख नाघे

न्युयोर्क – विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् । करिव दुई वर्षअघि सर्वप्रथम चीनको वुहानबाट कोभिड संक्रमण फैलिएको थियो । 

कोभिड खोप बिकास भएपछि करोडौं मानिसहरुले खोप लगाएका छन् । तर, अझै पनि विश्वको ठूलो जनसंख्या खोपको पहुँचबाट टाढा छ । अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । 

युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि  बढेको छ । ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो अड्हानोम भेरब्रेइससले भने ।

रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ । २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ । मृत्युदर बढे पनि त्यहाँका नागरिक खोप लगाउन अनिच्छुक छन् । ५० प्रतिशतभन्दा बढी रसियालीले अझै खोप लगाएका छैनन् । 

सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ । 

युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ । ती दुबै देशमा औषतमा ५०० जनाको मृत्यु हुने गरेको छ । 

यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औषतमा दैनिक एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ । 

एजेन्सी
 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : २६ बजे