त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा गुरागाईँ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाउनुभएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहनुभएका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।

प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । 

हाल प्रतिष्ठान प्रमुख रहनुभएका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ ।

एक साताअघि प्राधिकरणको महानिर्देशक बन्नुभएका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । 

यसअघि प्राधिकरणका निवर्तमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गर्नुभएको थियो । 

मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।रासस 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ०६ बजे