विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको छ : राष्ट्रपति

लुम्बिनी – राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गर्नुभएको छ ।

विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताउनुभयो । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उहाँले भन्नुभयो , ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

उहाँले विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको उल्लेख गर्नुभयो  । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उहाँले भन्नुभयो , ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, ‘उहाँले भन्नुभयो, ‘त्यहीँअनुसार सहयोग गरेका हौँ ।’ शाक्यले काठमाडौं महानगरजस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताउनुभयो  । 

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराउनुभयो । उहाँकाअनुसार महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ ।

उहाँले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताउनुभयो । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३७२ वर्ष भयो,’ उहाँले भन्नुभयो, ‘३७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौं ।’ 

नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ०२ बजे