साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मिनालाई

कास्की । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले उचालेको छ । 

पोखरास्थित फेवाताल किनारमा शनिवार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । 

यसैगरी, बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरूले रु १० लाख र रु ५० लाखको बिमा पुरस्कार पाउनुभयो ।

सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाउनुभयो भने राजेन्द्र पाठक र मिना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाउनुभयो । 

प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा हुनुहुन्थ्यो । 

नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिवार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

देशभरबाट डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ०६ बजे