पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक सुचारु

लमजुङ ।  बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक सुचारु भएको छ ।  

कात्तिक २ गते गएको पहिरोले ग उक्त सडक खण्ड अवरुद्ध भएको थियो । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । 

तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर–चामे–खाङसार सडक पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रशासनले कार्यालय मनाङले जनएको छ ।

बाढी पहिरोले क्षति पुर्‍याएको ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो। 

उहाँका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।

अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढी पहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगायत १२ ठाउँमा क्षति पुर्‍याएको थियो ।

सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो। 

६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।  

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ४८ बजे