दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बाँडफाँट गरेको छ । 

कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्कासन  गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । 

आवेदन दिएकामध्ये ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कूल रु ९० करोड बराबरको रु १०० अङ्कित मूल्यका ९० लाख कित्ता शेयर निष्कासन मा ल्याएको थियो ।

बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कूल  ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ । 

कम्पनीको धितो पत्र निष्कासन  तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन  तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल छन् । 

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : १३ बजे