माथिल्लो मनाङमा हिमपात

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा

भक्तपुर । नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वको २४ सदस्यीय टोलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेको छ । 

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका उहाँहरूले बिहीबार साँझ विश्व सम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको हो । 

उहाँहरूलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईंले दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभएको थियो । नगरपालिकाको टोलीले उहाँहरूलाई पुष्प गुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौ प्रदान गरी स्वागत गर्नुभएको हो ।

भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको छ । 

नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराउनुभएको थियो।

 भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्ण द्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँच तले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गर्नुभयो। 

प्रमुख प्रजापतिले सभामुख डेल्गाडो सहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरू मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ५० बजे