दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हस्तकला व्यापार मेला मङ्सिर ३ गतेदेखि काठमाडौँमा हुने

काठमाडौँ । हस्तकला व्यापार मेला आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

नेपाल हस्तकला महासङ्घले विगतका वर्षजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो । 

महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । 

सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले मेलामा नेपाली हस्तकलाका १२० कक्ष रहने जानकारी दिनुभयो । उहाँले नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको बताउनुभयो । 

मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : १० बजे