‘नेशनल डे कन्सर्ट’ सम्पन्न

म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँः दिलीप न्यौपाने

पोखरा, ११ कात्तिक  । देशकै ठूलो महानगर पोखरामा निकै मुस्किलका साथ एमाले नेतृत्व चयन गरिएको छ । पाँच जना आकांक्षीबाट दिलीप न्यौपाने अध्यक्ष चुनिएका छन् । पार्टी विभाजनको कठिन अवस्थामा अध्यक्ष बनेर पार्टीलाई एकीकृत बनाउने र आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने उनको दायित्व छ । प्रस्तुत छ, न्यौपानेसँगको संक्षिप्त कुराकानीः 

पाँच जना प्रतिस्पर्धीबाट सर्वसम्मत रूपमा तपाईं अध्यक्ष बन्नुभयो, अध्यक्षका प्रत्यासीहरूलाई कसरी मिलाउनुहुन्छ ? 

त्यति धेरै गाह्रो कुरा छैन । निर्वाचनमा गएर मत विभाजन भएको भए बरु चुनौती हुन्थ्यो । तर उहाँहरूले सर्वसम्मत रूपमा मलाई अध्यक्ष बन्न सहयोग गर्नुभयो । आजको जेनेरेसनको ऊर्जालाई नेतृत्व दिनुभएको छ । उहाँहरू सबै मेरो अग्रज हुनुहुन्छ । उहाँहरूसँग मेरो प्रतिस्पर्धा, गुनासो र इगो केही रहँदैन । सम्मान गरेर, कसैलाई शीरमा, कसैलाई काँधमा र कसैलाई ढाडमा बोकेर हिँड्छु । उहाँहरूकै अभिभावकत्वमा मैले नेतृत्व गर्ने हो । 

पार्टी विभाजन भएको बेला महानगरको नेतृत्वमा आउनुभयो । पार्टी एकताबद्ध बनाउन तपाईंको भूमिका के हुन्छ ? 

विभाजनको प्रभाव कास्कीमा खासै धेरै परेको छैन । जति भ्रमवश एमालेबाट चोइटिएर जानुभएका कमरेडहरूलाई छलफल गरेर पार्टीमा फर्काउन मेरो भूमिका रहन्छ । अहिले भएको भन्दा एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी बनाउने छौं । मलाई विश्वास छ, मैले त्यो गर्न सक्ने भएर नै नेतृत्वमा दावी गरेको थिएँ । 

स्थानीय तह र संसदीय चुनाव संघारमा छ । तपाईंको चुनाव जिताउने रोडम्याप के हो ? 

पार्टीका अध्यक्षले दुई तिहाइको बहुमत साथ चुनाव जिताउछौं भन्नुभएको छ । देशभरिको कम्युनिष्ट आन्दोलन हाँक्ने ऊर्जावान नेतृत्व हामीले पाएका छौं । प्रधानमन्त्री केपी ओली हुँदा भएका कामको प्रचार गर्छौं । कम्युनिष्ट आन्दोलन सखाप पार्न जुन जालझेल भयो । त्यो आक्रमणबाट प्रतिरक्षा गर्न एमालेलाई अझै शक्तिशाली बनाउनुपर्ने छ । यो लिएर हामी जनताका घरदैलोमा जान्छौं, संगठनलाई प्रभावकारी बनाउँछौं । ठूलो युवा पंक्ति एमालेमा आकर्षित छ । तल्ला कमिटीमा युवाको बाहुल्यता छ । यही पंक्तिलाई प्रशिक्षित गरेर स्पष्ट बहुमत दिलाउँछौं । 

अध्यक्ष आफैं पनि संस्था हो । तर अहिलेको कार्यसमितिले कत्तिको सहयोग गर्ने खालको छ ? 

मित्र बनाउने होइन, कमाउने हो । जब हामी इमान्दारीपूर्वक पूर्वाग्रह नराखी पार्टी निर्माणमा लाग्छौं भने सबैको समर्थन हुन्छ । पार्टीमा केही समस्या आउन सक्छ, छलफल अन्तरक्रियाबाट माझेर क्रान्तिकारी स्पिरिट भर्दै यो पार्टीलाई अगाडी बढाउछौं । सानातिना समस्या कम्युनिष्ट पार्टीका लागि सामान्य हो । हामी यसबाट आत्तिदैनौं । बरु व्यवस्थापन गरेर लैजान्छौं । 

तपाईंको जीतले एमाले र युवा पुस्तामा जाने सन्देश के हो ? 

युवा पुस्ता राजनीतिक संकटबाट फ्रष्टेसन हुन्छ कि भन्ने त्रास थियो । तर युवामा झन् आकर्षण बढेको छ । सबै दलमा युवाको आकर्षण छ । यो बढी आशावादी र ऊर्जावान छ । यसलाई पुँजीकृत गरेर राजनीतिमा लाग्यौं भने संकट, विकृति र विसंगती समाधान गर्न सक्छौं । युवाहरू विज्ञान प्रविधिसँग जोडिएको छ, नयाँ चिन्तनसँग घुलमिल भएको छ । हामी अग्रजलाई सम्मान गर्दै उहाँहरूको सल्लाह लिएर नेतृत्व युवाले लिन्छ । पोखरामा एमालेको निर्माणको अभियान जनताको आशाको केन्द्रविन्दु एमालेमा कायम राख्छौं र थप इँट्टा भर्छौं । 

सतहमा तपाईं खगराज अधिकारी गुटबाट निर्वाचित हुनुभयो भन्ने चर्चा छ । त्यो चर्चा कसरी चिर्नुहुन्छ ? 

बजारमा भएका चर्चाहरू धेरै चिन्ता लिनुहुन्न । परिणाममा देखियो नि । कुनै नेताले कसैलाई बोकेको भए यति सहज रूपमा नतिजा आउँदैनथ्यो । यति सिनियर नेताहरूले नत्र किन सजिलै छोड्नुहुन्थ्यो र ? नेतृत्वलाई विश्वास दिलाउने क्रममा र आफ्ना विचार राख्ने क्रममा नेताहरूसँग भेटघाट र छलफल भएको हो । सबै नेताहरूसँग सबै दावेदारले भेट्नुभएको छ र कुरा राख्नुभएको छ । यो भनेको गुट होइन । नेताहरूलाई विवादमा ल्याउने र ध्रुवीकरण गर्नेतिर भन्दा उम्मेदवारबीचमै छलफल गरेर टुंग्याऔं भनेर उहाँहरुले फिर्ता लिनुभयो र मलाई आशीर्वाद दिनुभयो । नेताहरूसँग नाम जोड्ने कुरा सामान्य हो । 

गुट फेर्नुभएको त होइन नि ? पछिल्लो समय पृथ्वीसुब्बा गुरुङसँग पनि लाग्नुभयो भन्ने सुनिन्छ ।

गुट फेर्नुपर्ने आवश्यकतै छैन नि । हिजो माधव नेपाल, केपी ओलीका नाममा बनेको गुट थिए । आज एमाले मात्रै छ भने गुट बनाउनु आवश्यक छैन । गुटबन्दी गर्न भएका चर्चा परिचर्चामा धेरै टिप्पणी गर्नुपर्ने छैन । 

यसपछि तपाईंले देख्नुभएका समस्या र त्यसको समाधान कसरी गर्नुहुन्छ ? 
समस्या त एउटा कम्युनिष्ट आन्दोलनभित्र ठूलो आक्रमण छ । यसलाई जोगाएर लैजाने कुरा ठूलो चुनौती हो । धेरैको मतभेद छ । अहिले कम्युनिष्ट आन्दोलनमा जुन धक्का लागेको छ, यसको क्षतिपूर्ति उठाएर जनतालाई सचेत गरेर आन्दोलन जोगाउनु नै पहिलो चुनौती हो । दोश्रो, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अर्को दायित्व छ । आगामी निर्वाचनमा एमालेलाई जिताउनु र राष्ट्रिय आकांक्षा पूरा गर्ने चुनौती छ । ति चुनौति सामना गर्नका लागि एमाले एकताबद्ध हुनुपर्ने छ । विचारले क्रान्तिकारी र संगठनले सशक्त बनाउने नै मुख्य कार्यभार र जिम्मेवारी हो । 

एमाले आन्तरिक चुनावसँग किन डराएको हो ? 

हामी निर्वाचनसँग डराएको होइन । निर्वाचन त अन्तिम विकल्प हो नि । तर निर्वाचनबाट हुने मनोवैज्ञानिक समस्याहरू, नकारात्मक प्रभावहरु हुने भएकाले एक दुई दिन ढिलो गरेर भए पनि कार्यकर्तालाई सम्झाएर सर्वसम्मत गर्न सके राम्रो हुन्छ भनेर हो । सर्वसम्मत हुन्छ भने सजिलोको नाममा मत विभाजन गर्नुभन्दा सर्वसम्मतमै नेतृत्व चयन गर्नु उपयुक्त विकल्प हो । यो राष्ट्रभरिको अधिवेशन उद्घाटनमा अध्यक्षज्यूले भन्नुभएको निर्देशनअनुसार यो प्रयास गरेका हौं । 
 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : १८ बजे