दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

महेन्द्रनगर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान गरिएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली क्षति पुगेको बताउनुभयो । 

“अहिले वडा स्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।” कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती गरिँदै आएको छ ।

ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ । 

धान खेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् । किसानले घरमा कुन्यू बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ ।

किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धान बाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताउनुभयो ।

 “परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरूको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ”, रानाले भन्नुभयो, “बाली काटेर थ्रेसर लगाउनभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो ।” 

कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई÷तीन दिनभित्र क्षतिको यकिन विवरण आउने जनाएको छ । रासस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : २४ बजे