साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘जबज’ लाई विश्वविद्यालयका पाठ्यक्रममा समावेशको पहल

​​​​​​​​​​​​​​काठमाडौँ । जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा बुधवार विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श भएको छ ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग, आमसञ्चार तथा पत्रकारिता विभाग, जल तथा मौसम विभाग, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, इतिहास, श्रम अध्ययन लगायत विभागका प्रमुख तथा प्राध्यापकको सहभागिता थियो । 

​​​​​​​

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जबजलाई एमालेले पार्टीको मार्गदर्शन सिद्धान्त बनाए पनि यो मुलुक र विश्व कम्युनिष्ट आन्दोलनका लागि एक मौलिक सिद्धान्त भएकाले यसलाई केन्द्रमा राखेर विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले शान्तिपूर्ण बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक प्रणाली, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक अधिकार लगायतका १४ विशेषतायुक्त जबजलाई अप्रत्यक्ष रूपमा नेपालका सबै दलले कार्यान्वयन गरिरहेको जनाउनुभयो । 

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजलाई विश्वविद्यालय शिक्षामा लागू गराउन  विश्वविद्यालयका केन्द्रीय बिभागहरुसँग सम्झौता गरी काम सुरु भएको जनाउनुभयो ।

एमालेका तत्कालीन महासचिव भण्डारीबाट प्रस्तुत पार्टीको २०४९ माघमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ पारित भएको थियो । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ०७ बजे