‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोभिड प्रभावित सञ्चारक्षेत्रलाई राज्यले सम्बोधन गर्छ : सञ्चारमन्त्री गुरु

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित सञ्चारक्षेत्रलाई राज्यले सम्बोन गर्ने बताउनुभएको छ ।कोरोनाको संकटपूर्ण अवस्थामा पत्रकारले आफुपनि सुरक्षित हुँदै समाचार संकलनमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री गुरुगले संक्रमित पत्रकारका लागि राज्यले बेड, अस्पताल लगायत अन्य सुविधा उपलब्ध गर्न सहयोग गर्ने बताउनुभयो ।

  मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उहाँले भन्नुभयो,“यो बेला भनेको एकले अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रुपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढंगबाट सहयोग गरौँ ।”
    मन्त्री गुरुङले  भ्रामक समाचारभन्दा पनि कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन/ प्रसारण गर्न आमसञ्चारमाध्यमलाई आह्वान गर्नुभयो । उहाँले केही मिडियाले जनतालाई आतङ्कित गर्ने गरी समाचार सम्प्रेषण गर्ने गरेको बताउँदै कोरोनाबाट बच्ने विषयवस्तु सम्प्रेषण गर्न मिडियालाई आग्रह गर्नुभयो । 

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ । 

मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गर्ने भएको छ । नेपाललाई कोरोनामुक्त राष्ट्र घोषणा गर्ने गरी मिडियाले सकारात्मक सन्देश दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।  उहाँले सरकारले कोरोना न्यूनीकरण र बिरामीको उपचारमा सक्दो काम गरिरहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा मिडियाका सञ्चालक, सरोकारवालाहरुको सहभागिता थियो । सो अवसरमा चक्रपथ डटकमका सम्पादक कविता अधिकारीले कोरोना महामारीको समयमा मिडिया क्षेत्रले भोगेका समस्यालाई उजागर गर्नुभएको थियो । इकाजगका सम्पादक हरिबहादुर थापाले विज्ञापनको वितरणमा देखिएका चुनौतीको समाधान गर्न मन्त्रीलाई आग्रह गर्नुभयो । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले कोरोनाको महामारीका समयमा कस्तो विषयवस्तु प्रस्तुत गर्ने भन्नेबारे आमसञ्चारमाध्यम प्रष्ट हुनुपर्छ भन्नुभयो । 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : २३ बजे