साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी –२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । 

मङ्गलवार राति भएको सुपर १२ को समूह 'बी' मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍यो । टस जितेर बलिङ गरेको  पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे ।

न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

न्यूजिल्यान्डका डेभन कन्वेले  सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे  ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले  सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह'बी'मा पाकिस्तान २ खेलमा २  जित साथ ४ अङ्कसहित शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : १८ बजे