माथिल्लो मनाङमा हिमपात

 बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिनुहुँदै

हेटौँडा  । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  ।  

विश्वासको मत लिने प्रक्रियाका लागि आज बिहान १:०० बजे बागमती प्रदेशसभा बैठक बस्दै छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । उक्त प्रस्तावमा आज बुधवार मतदान हुन लागेको हो । 

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई साथ नदिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो ।

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अनुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ । 

बागमतीमा सभामुखसहित १०९ सांसद हुनुहुन्छ  । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनुपर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । काँग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ५६ बजे