चीनमा फेरि लकडाउन, ४० लाख जनता घरभित्रै 

बेइजिङ । मंगलबार चीनले ४० लाख मानिस बसोबास गर्ने शहर, लान्जोउमा लकडाउन जारी गरेको छ । स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दाहरुलाई आपतकालीन अवस्था बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । 

चीनले सुरुवातदेखि नै भाइरस नियन्त्रण गर्न सिमाना र देश भित्रै पनि एकदमै कडाइ गर्दै आएको छ । मंगलबार त्यहाँ २९ नयाँ संक्रमितबारे रिपोर्ट गरिएको हो । यसमा ६ नयाँ बिरामी लान्जोउबाट रहेको बताइएको छ । यस्तोमा लान्जोउका वासिन्दालाई सरकारले घरैमा बस्न निर्देशन दिइसकेको छ । त्यसैगरी शहर भित्र र बाहिरको यात्रा पनि अब अत्यन्तै सिमित राखिने बताइएको छ । 

चीनमा हाल फैलिरहेको भाइरस डेल्टा भेरियेन्ट भएकाले पनि चिन्ताजनक मानिएको हो । र अक्टोबर १७ पछि त्यहाँ १९८ मा संक्रमण फैलिसकेको छ । यस्तोमा स्वास्थ्यविद्हरुले सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिँदै परीक्षणलाई वित्र पारिरहेका छन् । यी सबै नयाँ संक्रमण स्थानीय पर्यटनको समुहसँग सम्बन्धित रहेको बताइएको छ । त्यसैले पनि उत्तरी चीनमा दशौँ हजार मानिसहरुलाई अनिवार्य घरमै बस्न भनेर कडा आदेश दिइएको छ । 

राजधानी बेइजिङमा चाहिँ मंगलबार तीन नयाँ संक्रमित फेला परेका छन् । यस्तोमा पर्यटकीय स्थलहरुलाई सिमित गर्न लागिएको छ र वासिन्दाहरुलाई अति आवश्यक काम बाहेक शहर नछाड्न आग्रह गरिएको छ । त्यस्तै कतिपय हाउजिङ क्षेत्रहरुमा पनि लकडाउन जारी गरिएको छ । आइतबार बढ्दो संक्रमणकै कारण तीस हजार बढी खेलाडी सहभागी हुने म्याथाथोनको कार्यक्रम स्थगित गरिएको थियो । 

बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमण दर अत्यन्तै थोरै लागेपनि चीनले महामारीको सुरुवात देखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ । 

त्यसैगरी अब १०० दिन मात्र बाँकी रहेको जाडोयामको ओलम्पिक्सको तयारीका लागि भनेर पनि निकायहरु संक्रमण नियन्त्रण गर्न समर्पित भएर लागिरहेका छन् । 

यसअघि शिनुवा न्युज एजेन्सीले रिपोर्ट गर्दै भित्री मंगोलिया क्षेत्रमा पार्टीका सचिवलाई महामारी रोकथाम र नियन्त्रणमा कमजोर प्रस्तुती देखाएको भन्दै पदबाट निकालिएको खबर गरेको थियो । त्यहाँ पनि नयाँ संक्रमित थपिने क्रम जारी छ । 

यसरी अबका दिनहरुमा ११ प्रान्तमा ठूलो स्तरका कोभिड परीक्षण सञ्चालन गरिने तयारी भइरहेको छ । भने बेइजिङ सहित पाँच क्षेत्रमा भ्रमणका कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ ।  एनडीटीभी 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ३३ बजे