दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साढे दुई अर्ब वर्ष पुरानो माणिकमा वैज्ञानिकहरूले पत्ता लगाए प्राचीन जीवनको संकेत

काठमाडौं – साढे दुई अर्ब वर्ष पुरानो माणिक (रुबी) मा प्राचीन जीवनको संकेत पत्ता लागेको वैज्ञानिकहरूले दाबी गरेका छन्। ग्रीनल्यान्डबाट ल्याइएको अहिलेसम्मकै सबैभन्दा पुरानो ग्रेफाइट खनिजयुक्त रुबीको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो। कार्बनमा देखिएको हस्ताक्षरले के सुझाउँछ भने यो प्राचीन जीवनको अवशेष हो।

‘रुबीभित्र रहेको ग्रेफाइट साँच्चिकै अद्वितीय छ। रुबीयुक्त चट्टानमा प्राचीन जीवनको प्रमाण भेटिएको यो पहिलोचोटि हो,’ अनुसन्धानमा संलग्न क्यानडास्थित वाटरलु युनिभर्सिटीका वातावरण विज्ञानका प्राध्यापक क्राइस याकिमचुकले भनेका छन्।

चट्टानमा भेटिएको साढे दुई अर्ब वर्ष पुरानो ग्रेफाइट भेटिँदा यस्तो अवस्था थियो कि वायुमण्डलमा अक्सिजनको मात्रा पर्याप्त थिएन र सूक्ष्मजीव तथा अल्गीजस्ता एककोषीय जीवको मात्र अस्तित्व रहेको थियो।

उक्त कार्बन जैविक रूपमा उत्पत्ति भएको थियो कि थिएन भन्ने थाहा पाउन अनुसन्धाताहरूले यसको रासायनिक पक्षबारे अवलोकन गरेका थिए। उनीहरूले कार्बन एटम रहेको आइसोटप्सको संरचनाबारे गहन विश्लेषण गरेका थिए।

‘लिभिङ म्याटर (जीवित पदार्थ) ले हलुका कार्बन एटमलाई प्राथमिकतासाथ समावेश गर्दछ किनभने तिनीहरूलाई कोषिकाहरूमा समावेश गर्न कम ऊर्जा खर्च हुन्छ,’ याकिमचुकले उल्लेख गरेका छन्, ‘ग्रेफाइटमा कार्बन-१२ वृद्धि भएको आधारमा हामीले के निष्कर्ष निकाल्यौं भने कार्बन एटममा भेटिएका सायनोब्याक्टेरिया जस्ता प्रायः मृत सूक्ष्मजीवहरू कुनै समय पुरातन जीवन थिए।’

ग्रीनल्यान्डमा चट्टान फेला पारेका वैज्ञानिकहरू जसले आवश्यक सूचनालाई गहन बनाउन रुबीको भूविज्ञान अध्ययन गरेका थिए। रुबी रातो रंगको हुन्छ, जसमा खनिज कोरन्डमको विविधता हुन्छ। नीलमणि पनि उस्तै वस्तुहरूबाट बनेका हुन्छन्।  

रुबीमा रहेको क्रोमियले विशिष्ट रंग देखाउँछ जबकि नीलमणिमा रहेका आइरन, टिटानियम र निकेलले पनि रत्नसँग सम्बन्धित नीलोसहित विभिन्न रंगहरू उत्पादन गर्छ।

वैज्ञानिक टोलीले पत्ता लगाएअनुसार ग्रेफाइटले रुबीको वृद्धिका लागि आवश्यक वातावरण तयार पार्न वरिपरिका चट्टानको रसायन परिवर्तन गरेको पाइएको छ।

त्यहाँ भेटिएको ग्रेफाइटले यो स्थानमा रुबी कसरी निर्माण भयो भन्नेबारे हामीलाई थप जानकारी दिन्छ,’ याकिमचुकले स्पष्ट पारेका छन्।

(गत साता ‘ओर जियोलोजी रिभ्युज’मा प्रकाशित अनुसन्धानमूलक लेखका आधारमा तयार गरेको सामग्री)  

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : ३२ बजे