खाेटाङमा गरिब परिवारमा आत्महत्या दर बढी

खोटाङ – खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको तथ्यांकलाई विश्लेषण गर्दा गरिब परिवारका ६८ दशमलव १८ प्रतिशतले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । सो अवधिमा मध्यमवर्गीय परिवारका २९ दशमलव ५५ प्रतिशत र धनी वर्गका २ दशमलव २७ प्रतिशतले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

तीन आर्थिक वर्षको अवधिमा शिक्षितभन्दा अशिक्षित व्यक्तिले बढी आत्महत्या गरेको पाइएको छ । साधारण लेखपढ गर्न सक्ने ६८ दशमलव १८ प्रतिशत, कक्षा १० उत्तीर्ण गरेका २५ प्रतिशत र सोभन्दा माथि अध्ययन गरेका ७ दशमलव ८२ प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जातीय आधारमा अध्ययन गर्दा सबैभन्दा बढी जनजाति समुदायमा आत्महत्या हुने गरेको पाइएको छ । जनजाति समुदायका १०१ जना, दलित समुदायका ३० र क्षेत्री/ब्राह्मण समुदायका २६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, संयुक्त परिवारभन्दा एकल परिवारमा आत्महत्याको दर बढी देखिएको छ । एकल परिवारमा ७६ दशमलव ७० प्रतिशत र संयुक्त परिवारमा २३ दशमलव ३० प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । तीन आर्थिक वर्षको अवधिमा विवाहित ७३ दशमलव ७ प्रतिशत र अविवाहित ३६ दशमलव ९३ प्रतिशतले आत्महत्या गरेका छन् । ‘आत्महत्यामा व्यक्ति, परिवार र समाजको दोष हुन्छ,’ प्रहरी निरीक्षक शाहले भने, ‘आत्महत्याका क्रममा प्रयोग हुने डोरी, विषादिजस्ता वस्तुमा पहुँच घटाउनुपर्छ । मानसिक रोग वा दीर्घरोगीको समयमै उपचार गरे पनि आत्महत्या केही कम गर्न सकिन्छ ।’ 

आत्महत्या भए गरेका समयलाई अध्यायन गर्दा मध्यान्ह १२ देखि बेलुका ६ बजेको अवधिमा ६२ जनाले आत्महत्या गरेको तथ्यांक छ । यस्तै, बिहान ६ देखि मध्यान्ह १२ बजेसम्मको अवधिमा ६० जना, बेलुका ६ देखि राति १२ बजेको अवधिमा ३१ जना र रातको १२ देखि बिहान ६ बजेको अवधिमा १४ जनाले आत्महत्या गरेको पाइएको प्रहरी निरीक्षक शाहले बताए । 

खोटाङमा आर्थिक वर्ष ०७५/०७६ मा ३२ पुरुष, १८ महिला र २ बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष ०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ वालबालिका, आर्थिक वर्ष ०७७/०७८ मा ४७ पुरुष, २० महिला र आठ बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : ०५ बजे