माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी 

खोटाङ । नेकपा एमालेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण भएको छ  । 

एमालेको आइतबार सम्पन्न वडा अधिवेशनबाट तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित हुनुभएका भलाराज राईले बताउनुभयो । 

वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको एमालेले जनाएको छ ।

“महिलालाई अवसर दिनुहुँदैन, महिलाले केही गर्न सक्दैनन्” भन्ने पुरुषवादी सोचको अन्त्यका लागि पार्टीको वडा कमिटीको ‘स्टेरिङ’ महिलालाई दिइएको वडा अध्यक्ष राईले बताउनुभयो । 

“महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ, अवसर दिनुपर्छ भन्ने सोच त छँदै छैन । यो पुरातन सोच त्याग्नुपर्छ”, वडा अध्यक्ष राईले भन्नुभयो, “हामीले इतिहास रच्ने प्रयास गरेका हौँ । महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।”

११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिवेशन ८ कात्तिक अर्थात् आज हुने एमालेले जनाएको छ । 

विवादका कारण राजापानीको वडा अधिवेशन ९ कात्तिकमा पालिका अधिवेशनकै दिन टुङ्ग्याउने सहमति बनेको नगरपालिकाका एमाले नेता एवं युवा सङ्घका जिल्ला अध्यक्ष रसकुमार राईले बताउनुभयो । 

खोटाङमा दुई वटा नगरपालिका र आठ वटा गाउँपालिका रहेको जिल्लाका ७९ वडामध्ये अधिकांश वडाको अधिवेशन सम्पन्न भइसकेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ सछितापोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ टेम्मा, रावाबेँसी गाउँपालिका–६ हौँचुरको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो

 । 

स्थानीय शिक्षिका मृत फेला परेपछि हौँचुरमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको थियो। 

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका दुई हजार ४ सय ४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदै छन् ।

प्रत्येक वडामा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसहित सदस्य चयन गर्नेछन् । 

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ ।  एमालेको १०औँ महाधिवेशन १० देखि १२ मङ्सिरमा चितवनमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : १८ बजे