दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वभर आज संयुक्त राष्ट्रसङ्घ दिवस मनाइँदै  

काठमाडौँ । आज संयुक्त राष्ट्रसङ्घ स्थापना भएको दिन अर्थात् अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको आधिकारिक रूपमा स्थापना भएको थियो । 

संयुक्त राष्ट्रसङ्घ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ ।

युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्ने लगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो । 

विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन् ।

अन्तर्राष्ट्रिय अपराध आयोग
​​​​​​​हेगमा मुख्य कार्यालय रहेको यस आयोग युगोस्लाभियामा युद्ध अपराधका शङ्कास्पद व्यक्तिमाथि मुद्दा चलाउनको लागि स्थापना भएको थियो । 

अहिले यसले संसारभर भएको आपराधिक घटनाको अध्ययन तथा निर्क्योल गर्ने गर्दछ । 

युनिसेफ
युनिसेफले बालबालिकाको स्वास्थ्य, शिक्षा तथा सुरक्षाको क्षेत्रमा काम गर्ने गर्छ । 

युएनडिपी
यस संस्थाले गरिबीको क्षेत्रमा काम गर्छ । 

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलन
​​​​​​​संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनले विश्व व्यापार, लगानी तथा विकासको मुद्दासँग सम्बन्धी रहेर काम गर्छ ।

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्
यसले अन्तर्राष्ट्रिय स्तरमा आर्थिक तथा सामाजिक सहयोग गर्न तथा विकास कार्यक्रममा सहायता गर्ने काम गर्छ । साथै यो संस्था अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्नसमेत प्रयासरत रहेको छ ।

युनेस्को
पेरिसमा मुख्य कार्यालय रहेको यो संस्था शैक्षिक सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन हो ।

शिक्षा, विज्ञान, संस्कृति तथा सञ्चारको विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ । 

संयुक्त राष्ट्र राजदूत
जेनेभामा रहेको यस संस्थाले शरणार्थीको अधिकार सुनिश्चित गर्नुको साथै उनीहरूको कल्याणको क्षेत्रमा काम गर्ने गरेको छ । 

संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)
संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)को मुख्य काम विश्वको पर्यावरणको रक्षा गर्नु हो ।  यसको मुख्य कार्यालय नैरोबीमा रहेको छ ।

विश्व खाद्य कार्यक्रम
रोममा रहेको यस संस्थाले भोकमरी निवारणमा काम गर्छ । आवश्यक देशहरूमा यसले खाद्यान्न उपलब्ध गराउने गरेको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)
संसारभर रहेका श्रमिकहरूको हितमा यस संस्थाले काम गर्ने गर्छ ।

मजदुर तथा श्रमिकको अधिकारलाई रक्षा गर्न यसले अन्तर्राष्ट्रिय मापदण्ड तथा नियमहरू बनाउने गर्दछ । 

खाद्य तथा कृषि सङ्गठन
यो संयुक्त राष्ट्र सङ्घको एउटा विशेष एजेन्सीको रूपमा रहेको छ ।

यसले भोकमरी निवारणको लागि अन्तर्राष्ट्रिय स्तरमा काम गर्दछ । यसले विश्वका १३० भन्दा बढी मुलुकमा काम गर्ने गर्दछ । इटलीको रोममा यसको प्रधान कार्यालय रहेको छ । 

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले विश्वभर रहेका परमाणु ऊर्जाको निगरानी गर्दछ ।

आणविक ऊर्जाको खोज तथा यसबाट हुनसक्ने जोखिमको रोकथामका लागि सन् १९५७ मा यस एजेन्सीको स्थापना गरिएको थियो ।

यसको मुख्य कार्यालय विनामा रहेको छ । यस संस्थाले मुख्यतः परमाणु निगरानीको क्षेत्रमा काम गर्दछ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विश्वका १९३ देशको आर्थिक सहयोगमा सञ्चालन भएको संस्था हो ।

विश्वव्यापी नागरिक उड्डयन प्रणालीको दिगो विकास हासिल गर्नु यसको मुख्य उद्देश्य हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन को लागी यसले ग्लोबल फोरमको रूपमा सेवा प्रदान गर्दछ ।

वर्ल्ड बैङ्क
विकासशील देशहरूका लागी धन र ज्ञानको सबैभन्दा ठुलो स्रोतहरू मध्यको एक वर्ल्ड बैङ्क हो । 

यस अन्तर्गत पाँच संस्थाहरू छन् । पुनर्निर्माण र विकासको लागि अन्तर्राष्ट्रिय बैङ्क, अन्तर्राष्ट्रिय विकास सङ्घ, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी र लगानी विवादको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय केन्द्र ।

यी संस्थाहरूले गरिबी घटाउने, साझा समृद्धि बढाउने र दिगो विकासलाई प्रवर्द्धन गर्ने क्षेत्रमा काम गर्ने गरेको छ । 

विश्वका १९३ राष्ट्र सदस्य रहेका यस संस्थाले हाल विश्वभर १२ हजारभन्दा बढी परियोजना सञ्चालन गरेको छ भने करिब ४६ अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)
विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय जनस्वास्थ्यमा समन्वय गर्ने अधिकारको रूपमा काम गर्नुको साथै स्वास्थ्य, सरसफाइ र रोगहरूसँग सम्बन्धित क्षेत्रमा काम गर्दछ । साथै महामारीको समयमा संसारभर डब्लूएचओले नै मद्दत गर्ने गर्दछ ।

७ अप्रिल १९४६ मा यस संस्थाको स्थापना भएको थियो । विश्वका १९४ देश सदस्य रहेको यस संस्थाको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । 

यीबाहेक पनि संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विभिन्न निकायहरू छन् । जे होस् विश्व समुदायलाई एक ढिक्का बनाई सधैँ र सबैको विकास गर्दै मानव जातिको रक्षा गर्नु नै संयुक्त राष्ट्र सङ्घको प्रमुख उद्देश्य रहेको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४० बजे