दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ हुँदा भारतलाई फाइदा

बुटवल । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । 

भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । 

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सिधै लुम्बिनी आउँथे । पर्यटकहरूको सिधा आगमन नेपालमा रोक्नका लागि भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् । 

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरुले प्रत्यक्ष रूपमा बढी फाइदा लिन सक्थे । 

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने  भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुङ्गो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्ष बितिसकेको छ । तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन । 

करिब ३१ अर्ब लागेको यो आयोजना ढलाई हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरू बताउँछन् । विमानस्थल आयोजनाले करिब ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । तर विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको टुङ्गो छैन । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौता अनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरू नआउँदा समय लागेको बताए । 

सञ्चालन पूर्व गरिने परीक्षण उडानको पनि टुङ्गो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ ।  भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिँदा परीक्षण उडान हुन सकेको छैन । 

नेपालमा विमानस्थल निर्माणमा ढिलाइ हुनु र सीमा नजिकै ठुला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका प्रबन्ध निर्देशक समेत रहेका बजिमयको तर्क छ ।

‘नेपालले विमानस्थल समयमै निर्माण गर्न नसक्नु र भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ’ , उनले भने । श्रीलङ्काको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरूलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ३७ बजे