मन्थली विमानस्थलमा पानी पस्यो

यस्ता छन् एमाले स्थायी कमिटीका आठ निर्णय

काठमाडौं । नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो ।  

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी, भाइचारा पार्टी र देशभित्र विभिन्न राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ ।

बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : २५ बजे