साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फिल्म सुटिङ गर्न मनाङ पुगे अनुपम, परिणिती र बोमन

काठमाडौंँ – गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । 

लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । दुई दिनअगाडि नै प्राविधिक पुगेर छायांकनको लागि तयारी सकेपछि फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी पनि मनाङ पुगेका छन् । 

आठ दिनको सेड्युल लिएर मनाङमा पुगेको युनिटले निर्धारित समयमा नै छायांकन सकाएर फर्किनेछ । दुई दिन छायांकन नहुने भएपछि फिल्मका मुख्य कालाकारहरू अनुपम, बोमन र परिणिती काठमाडौंँ फर्किएका थिए । उनीहरू शुक्रबार मनाङ पुगेका हुन् । 

जहाँ उनीहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गरिएको छ । अनुपम स्थानीय संस्कृतिसँग घुलमिल भइरहेको आभास उनको सामाजिक सञ्जालमार्फत सहजै लगाउन सकिन्छ । नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायतको अभिनय रहेको छ । यद्यपि, सो फिल्म सुटिङका लागि अमिताभ बच्चन भने नेपाल आएका छैनन् । 

चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । 

नेपालमा ३० दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ४१ बजे