एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

संकट व्यवस्थापन गर्ने खालको जनचेतनामूलक कार्यक्रम चलाउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड –१९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौंँ महानगरपालिकालाई आग्रह गर्नुभएको छ । 

नेपाल सरकारका प्रवक्ता गुरुङले बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग भेटी काठमाडौं देशकै केन्द्र भएकाले कोभिड –१९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।  

“जनतालाई त्रास फैलाउने खालका भ्रमपूर्ण समाचार केही सञ्चारमाध्यमले दिने काम गरिरहेका छन्”, सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले भन्नुभयो, “ती भ्रमलाई चिर्ने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न काठमाडौंँ महानगरपालिकालाई आग्रह गर्दछुु ।”

कामपाले कोभिड संक्रमितको उपचार र  पीडितको राहतका लागि गर्दै आएको कामको प्रशंसा गर्दै मन्त्री गुरुङले जनस्तरमा भ्रम फैलाई त्रास बढाउने खालका गतिविधि हुन नदिन सबै स्थानीय तहले सचेत भएर काम गर्नुपर्ने  औंँल्याउनुभयो । उहाँले कोभिडका कारण पीडामा परेकाहरुलाई राहत दिने कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो । 

कामपा प्रमुख शाक्यले संक्रमितको उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा आवश्यक शय्यासहितको व्यवस्था गरिएको बताउनुभयो ।
       
त्यसैगरी उहाँले पीडितका लागि घरघरमै राहतको व्यवस्था वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाइएको पनि मन्त्री गुरुङलाई जानकारी दिनुभयो । संक्रमितलाई उपचारका लागि आवश्यक एम्बुलेन्सको परिचालनको कामलाई प्रभावकारी बनाइएको प्रमुख शाक्यको भनाइ थियो ।

सो अवसरमा काठमाडौंँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संकट समाधानका लागि स्थानीय प्रशासनले गरिरहेको कामबारे मन्त्री गुुरुङलाई जानकारी दिनुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना, गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामा र समाजकल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले कोभिड संकट समाधानका लागि सामाजिक संघसंस्थाको परिचालन सरकारको निर्देशनअनुसार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ५० बजे