मन्थली विमानस्थलमा पानी पस्यो

यहाँ सम्भव नहुने उपचार मात्रै म विदेशमा गर्छु : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सम्भव नहुने उपचार मात्रै आफुले विदेशमा गरेको बताउनुभएको छ । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले पहिलो पटक किड्नी ट्रान्सप्लान्ट गर्दा नेपालमा सम्भव नभएकाले विदेश जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘मैले किड्नी ट्रान्सप्लान्ट गर्दा यहा सम्भव थिएन अनि विदेशमा गए,दोस्रो पटक यही सम्भव भयो यही गरे ।’ आफू प्रधानमन्त्री हुँदा नेपालकै स्वास्थ्य प्रणालीमा विश्वास गरेर उपचार गरेको उहाँले बताउनुभयो । अझैपनि सम्भव हुने उपचार आफुले नेपालमै गर्ने ओलीको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेको स्पष्ट नीति र भिजनसँग अन्य दल डराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले एमाले स्पष्ट भिजनका साथ काम गरिरहेको छ । हाम्रो काम र भिजनलाई देखेर अन्य दल हड्बडाएका छन् । अहिलेको सरकारमा रहेका दल पनि चुनावसम्म गठबन्धन के हुन्छ भन्ने डरका साथ अब यो गठबन्धन सँधै रहीरहन्छ चुनावसम्म भन्ने गरेका छन् । यो उनीहरु डराएर भनेको हो ।’

अध्यक्ष ओलीले अन्य दलले एमालेलाई दमन गरेको आरोप लगाउँदै अन्य दलको दमनलाई चिरेर अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई दमन गर्ने शक्ति लागि परेको छ । त्यसलाई सामना गरेर अघि बढ्छौँ । हामीसँग धेरै चुनौति ती चुनौतिलाई सामना गरेर अघि बढ्छौँ ।’

ओलीले सही गन्तव्यमा पुग्ने पार्टी पनि एमाले मात्र भएको बताउनुभयो । ‘गन्तव्य भएको पार्टी अर्को छैन, गन्तव्यमा पुग्ने बाटो सही भएको पार्टी अर्को छैन, बाटो सही पइल्याउने नीति भएको अर्को पार्टी छैन ।’ उहाँले भन्नुभयो । देशव्यापी सशक्त जनआधारित जनताले विश्वास गरेको पार्टी एमाले मात्रै भएको उहाँको तर्क थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ०६ बजे