सुनको मूल्यमा नयाँ कीर्तिमान

बाढी पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयबाट आज बिहान सम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । 

विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उहाँले राससलाई जानकारी दिनुभयो । 

उहाँले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताउनुभयो । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । 

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ । 

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । 

प्रदेश १, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा  हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ४७ बजे