दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धान बालीमा क्षति

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धान बालीमा क्षति पुर्‍याएको छ । 

काटेर खेतमै रहेका अवस्थामा धान बाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेको बताउनुभयो । 

जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो । वर्षाले साथ दिँदा शतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो ।  

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ  । पाकेको धान बालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठुलो मिहिनेत र लगानी गरेको धान बाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरू निराश भएका छन् ।

हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरूको दुखेसो छ । हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धान नष्ट हुँदा समस्या परेको  बताउनुभयो । उहाँले भन्नुभयो “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ ।” रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३९ बजे