बाढीको स्थितिमा सुधार

सुदूरपश्चिममा बाढी–पहिरोमा परी ३ को मृत्यु, १ जना बेपत्ता

काठमाडौं । पछिल्लो दुई दिनदेखि जारी वर्षासँगै आएको बाढी–पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको  शव निकालिएको छ।

यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो। यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। 

बाढी पहिरोका कारण कैलाली, डोटी, डडेलधुरा, बझाङ र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : ०१ बजे