साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पछि पर्नुको हाम्रो मूल कारण परनिर्भरताको कठोर पासो

हाम्रो देश नेपाल भौगोलिकरुपले  रणनीतिक महत्वको स्थानमा अबस्थित रहेकाले पनि यो बाह्य शक्तिहरुको क्रिडास्थल बन्दै आएको कुरा जग जाहेर छ । फलतः नेपालले हिजोदेखि आजसम्म राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक अनेक समस्या बेहोर्नु परिरहेकोछ । अहिले पनि नयाँ सँस्करणमा त्यो स्थिति कायमै रहेको छ । त्यसै बाह्य दबाब र प्रभावले गर्दा समेत नेपालको राजनीतिमा अनेक अपूर्व बिकृति र बिसंगति उत्पन्न भएका छन् । अनि बिकासमा पछि पर्नुको एउटा प्रमुख कारण पनि यही नै बनेको छ । त्यसैले नेपाल आज पर निर्भरताको पासोमा उम्किनै नसक्ने गरी परिरहेको यथार्थ छ । बर्षौदेखि बिकासको कुरा चलाईने गरेको भए पनि नेपाल बिश्वमा एउटा दीनहीन देशकोरुपमा रहिरहनुको एउटा प्रमुख कारण नै यही हो ।

हाम्रो देश प्राकृतिक बिबिधिता, जैबिक बिबिधिता, जातीय तथा साँस्कृतिक बिबिधता आदिका हिसाबले एक सुन्दर बहु सम्भावना भएको देश हो । मूलतः यस देशको बिकासका आधारहरु पनि यी नै कुराहरु हुन् । तर यी श्रोतहरुलाई आफ्नै साझा राष्ट्रिय हित र सम्बृद्धिका लागि सही किसिमले परिचालन गर्ने परम्परा नै नेपालका अहिलेसम्मका शासकहरुले बसाल्न सकेनन् या बसाल्न चाहेनन् । तर बिदेशीहरुले यी नै हाम्रा प्राकृतिक र मानबीय सम्पदा तथा श्रोतमाथि आँखा गाडेका छन् । यी कुराहरुलाई आफ्ना हितमा उपयोग गर्न खोजेका छन् । बस्तुतः नेपालसँगको उनीहरुको सम्वन्धको मूल आधार नै यही हो । चाहे कसैले प्रत्यक्षरुपमा यो स्वीकार गरोस् या परोक्षरुपमा तर बास्तबिकता यही नै हो ।

बास्तवमा नेपाललाई जतिसकै स्वतन्त्र र स्वाधीन भने पनि बर्षौदेखि यो देश औपनिवेशक दोहनको शिकार भइरहेको छ र त्यसकै मारमा परेर  निर्धनतम देश बन्दै आएको कुरा कसैमा लुकेछिपेको कुरा छैन । हुन पनि ०७ सालअघि बृटिश–भारतको बेलायती साम्राज्यको एकाधिकारका रहेको देश ०७ पछि पनि त्यसबाट मक्त हुन सकेन । नेपाल भारत सम्वन्धले सही दिशा र गति लिन नसक्नु पछाडिको अहिलेसम्मको कारण नै त्यही हो । जबसम्म यो कुरालाई प्रष्टरुपमा स्वीकारेर यसको सही  उपचारको खोजी गरिदैन तबसम्म देशले काचुली फेर्ने कुरा फेरि पनि ‘मृग मरीचिका’ नै बन्ने छ । अहिलेसम्मको तीतो यथार्थको अनुभवले यो कुरा एकदमै प्रष्ट पारिसकेको र पारिरहेको छ ।

यसै कारणले हाम्रो राष्ट्रिय बिकासको सही रणनीति र कार्य योजना बन्न सकेन र बिकासलाई केवल शासकीय दृष्टिले मात्र हेर्ने र यसलाई शासक बर्ग र तिनका आसेपासेहरुको ‘पकेट मोनी अर्थतन्त्र’मा परिणत गर्ने आजसम्मको अबस्था रहँदै आयो । फलतः राष्ट्र र जनताको सम्पत्तिमाथि केही मुठ्ठीभर मानिसको लागि खेलबाड गर्ने बिषय बन्यो र बनाइदै आयो । त्यसका लागि बिदेशीको  निर्देशन र अक्कल बिनाको नक्कल गरेर बेला बेलामा जे जे  नारा ज–जसले  दिए पनि वास्तविक यथार्थ परिणामले नेपाललाई एउटा गरीब र कमजोर राष्ट्रकोरुपमा खडा गरिदियो । यसले गर्दा हाम्रो  राष्ट्रिय क्षमताको अभिबृद्धि हुन सकेन । बस्तुतः यही नै आज हामीले भोगिराखेको र अनुभव गरिराखेको नेपाली समाज हो र  एउटा कुण्ठित समाज हो । बस्तुतः हाम्रो ब्यापार घाटालाई मात्र सर्सरी हेर्दा पनि यो यो सम्पूर्ण राष्ट्रिय बजेटको समानान्तर बन्न पुगेको भयावह स्थिति छ । कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र तिरष्कृत र कुण्ठित भएर अनाकर्षक र गतिहीन बनेको छ । त्यसले गर्दा बाहिरबाट अर्बौं अर्बको खाद्यान्न, तरकारी, फलफूल, दूध तथा मासुजन्य पदार्थ हाम्रो देशले आयात गर्नु परिरहेको छ र गरिरहेको छ । कृषि कर्म र क्षेत्र  नै लगानी नउठ्ने र संकटको सामना गरिरहेको क्षेत्र बनिरहेको छ । यस क्षेत्रलाई जगाउने, उठाउने र अघि बढाउने बिश्वासिलो जग नै बस्न सकेको छैन । जसले गर्दा कृषि क्षेत्रमा धेरथोर बिकसित भएको या अबलम्बन गरिएको प्रबिधिले पनि पूर्णरुपले काम गर्न सकेको या गर्न पाएको छैन । त्यसैले अधिकतम श्रमभार ब्यहोरिरहेको कृषि क्षेत्रमा लागेका मानिसहरुकै यो पहिलो क्षेत्र बन्न सकिरहेको छैन । यूबा शक्ति बिदेश पलायन हुनुको पृष्ठभूमि नै मूलतः यही हो ।

त्यसैले तल भुईं तहदेखिकै जनतामा केन्द्रित बिकास रणनीति र कार्य योजना अघि नसारिएसम्म, जनतालाई श्रोत साधनको स्वामित्व प्रदान गर्ने र त्यसको परिचालन, प्रगति र परिणामको प्रष्ट, प्रत्यक्ष सहभागी बनाउने बाटो न पक्रिएसम्म हाम्रो राष्ट्रिय बिकासले फेरि पनि सही दिशा र गति लिन सक्ने छैन । यो फेरि पनि जनतालाई दीनहीन राख्ने र एउटा बिलाशी शासक बर्गीय गतिबिधिकै वरीपरी केन्द्रित र  सीमित रहन पुग्दछ । अनि यही अबस्थालाई आफ्नो स्वार्थ साधना गर्ने हिसावले बाह्य शक्तिहरु पनि जमजमाउँदछन् र अहिलेसम्म त्यसरी नै प्रस्तुत हुँदै आएका छन् । त्यसै कारणले दर्जनौ दातृ संस्थाहरु, हजारौ हजार आईएनजिओहरु सहीत नेपालको शासक बर्गले बिकासको ठूलो डंका पिट्ने र होहल्ला चलाउने गरे पनि कुनै सार्थक र अग्रगामी परिणति आउन सकेको छैन र यसरी कदापि आउँदा पनि आउदैन । अनि यसले जनतामा बिकासमा सहभागीताको सुनिश्चिता र सार्थक परिणामको आशा तथा आत्म बिश्वास जगाउन पनि सक्तैन । संगठित, सक्रिय र सार्थक जन सहभागिता र जन स्वामित्वसहितको जनताका बस्तुगत आवश्यकतामा आधारित अपूर्व बिकास नीति आजको हाम्रो राष्ट्रिय आवश्यकता हो । अन्यथा  फेरि पनि हामी अरु अरु देशका र हाल आएर दुइ बिशाल छिमेकी देश – चीन र भारतका बिकासका कथा सुन्दै सस्तो श्रम र प्राथमिक कच्चा पदार्थ मात्र निर्यात गर्ने नाजुक स्थितिमै सीमित रहिरहने र अझ कहालीलाग्दो स्थितितिर धकेलिने  छौं । अनि यस्तो कमजोर स्थिति जहिले पनि बाह्य शक्तिको क्रिडास्थल र अखडा बनिरहने उर्बभर भूमि बाहेक अरु केही हुन सक्तैन । आबश्यकता सर्ब प्रथमतः आज यस स्थितिबाट मुक्त हुनु छ ।

बिकासका सन्दर्भा पहिलो कुरा माथि उल्लेख गरियो भने दोश्रो कुरा यस प्रकार उल्लेख गर्न सकिन्छ — देश गलत राजनीतिक ब्यवस्था, संकीर्ण राजनीतिक स्वार्थ र गैर जिम्मेवार राजनीतिक प्रबृत्तिका कारण  पछि परेको कुरा अब मध्य दिउसोको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । धेरै अगाडिका कुरा नगरेर २००७ यतादेखिको राजनीतिक परिवर्तनको उतार चढावलाई मात्र सर्सरी केलाए पनि यो यथार्थ राम्रोसँग प्रकट हुन्छ । तर लाज पचेर नकच्चरो भएपछि यी कुनै कुराले असर पार्दैन र देश र जनताप्रतिको जिम्मेवारी बोधको हुटहुटी पनि पैदा गर्दैन । हुन पनि  जसले देशको श्रोत साधन अर्थात् उपलब्ध सस्तो कच्चा पदार्थ र सस्तो श्रमको दुरुपयोग गरेर कुम्ल्याए आज तिनीहरु  कि त चुपचाप छन् कि त यसो गर्ने उसो गर्ने भनेर अर्ति–उपदेश दिन तम्सिने गर्दछन् । जसको कुनै औचित्य र सान्दर्भिकता नै छैन ।

सात दशक अघि २००७ सालको दशकदेखि बिकास यात्रामा सँगसँगै हिडेका आफ्ना जोडिएका र निकट छिमेकी देशहरु कहाँ पुगे र हामी कहाँ पुगेका छौं त्यो हेर्दा हाम्रो श्रोत साधन परिचालन गर्ने नेतृत्व कति कमजोर, कति अदूरदर्शी, कति गैर जिम्मेवार र कति बेइमानी रहेछ भन्ने कुरा एकदमै  प्रष्ट हुन्छ । यस कुरामा अरु कतैतिर कसैलाई दोष दिएर पञ्छिने कुनै ठाउँ नै छैन । तर हाम्रो देशको अहिलेसम्म नेतृत्व गर्ने बिबिध रुप रंगको तर एउटै धरातल र प्रबृत्तिको शासक बर्गले आफुले देश र जनताप्रति समर्पित भएर सही दिशाबोधका साथ काम गर्न नसकेको र सीमित र संकीर्ण स्वार्थले गर्दा बिकास सँस्कृति र चेत नआएको बस्तुगत यथार्थलाई स्वीकार्न सकेको या त्यसो गर्न न चाहेको प्रष्ट भइसकेको र भइरहेको छ ।

वास्तवमा जबसम्म हामीले कुन कुन कारणले, कसरी र कहादेखि बाटो बिरायौं भन्ने कुराको खोजी गर्दैनौ तबसम्म समग्र बिकास सँस्कृतिको सही दिशामा अघि बढ्नै सक्दैनौ । त्यस्तो अबस्थामा हाम्रा अमूल्य श्रोत साधनहरु — प्राकृतिक, साँस्कृतिक र मानबीय सबै – या त त्यसै खेर जान्छन् या त सीमित स्वार्थमा प्रयुक्त हुन्छन् । स्वाभावतः केही सीमित र सानो समूहका ब्यक्तिहरु सम्पन्नताले मोटाउँदछन् भने अरु बाँकी सबै बिपन्नताले झनपछिझन दुब्लाउदै जान्छन् । अनि जतिसुकै बिकास संरचना र संयन्त्र खडा गरे पनि र त्यसका लागि जतिसुकै बजेट बितरण गरे पनि त्यो बहुसंख्यक आम जन समुदायका लागि अर्थहीन र निष्कृय बन्दछ । अहिलेसम्मको हाम्रो बिकास योजनाको बस्तुगत यथार्थ परिणामले दर्शाएको अन्तिम सत्य यही नै हो । यो बिकासले जनतालाई आफ्नो बिद्यमान नाजुक स्थितिबाट अझ तल तल झार्ने र बिस्थापित गराउने  बाहेक केही पनि गर्दैन । अहिलेसम्मको स्थिति बिकासले औल्याएको कटु यथार्थ सत्यतः यही नै हो । त्यसैल हाम्रो बिकास नीति, बिधि र थिति  तल भुइका जनतलाई एकजुट पार्ने, बिकासको प्राथमिक र द्वितीय श्रोत साधनको स्वामित्व  प्रदान गर्ने  र त्यसको रक्षा गर्दै अझ उच्च चरणमा लैजान जनतालाई नै सुम्पने बाटो अख्तियार गरिनु पर्दछ । आत्मनिर्भर र समुन्नत भएर परनिर्भताको पासोबाट मुक्त हुने बाटो यही नै हो । अन्यत्र भौतारिएर देश र जनताको बिकास कदापि हुन सक्तैन भन्ने कुरा अनुभवले सिद्ध गरिसकेको छ । अब पनि नचेत्नु मूर्खता र दासताको जञ्जालमा फँस्ने सीवाय अरू केही नहुने अँध्यारो सुरूङको प्रबेशद्वारमा हामी पुगिसकेको अबस्था बाहेक अरू कुनै निष्कर्श निस्कँदैन ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : ५५ बजे