यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अज्ञात समूहले माछा पोखरीमा विष हाले, दुई क्विन्टल माछा मरे

बनियानी – झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । 

“चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उहाँले केही दिन अघिदेखि मात्र बिक्री गर्न थाल्नुभएको थियो । “सोमबार आठ÷दश वटा माछा मरेको भेट्यौँ”, उहाँले भन्नुभयो, “त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।”

पोखरीमा १० हजार माछाको भुरा हालेको उहाँको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू तीन लाखभन्दा बढी घाटा हुने उहाँले बताउनुभयो । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उहाँले बताउनुभयो ।

सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताउनुभयो । 

पोखरीमा विष हालिएको विषयमा उहाँले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताउनुभयो । “माछा मरेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्दैछौँ ।”

रासस

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : ०७ बजे