ख्याल गरौँ मासुको अध्यधिक प्रयोग र पोलेको मासु विष बन्न सक्छ

 

नेपालीहरूको महान् चाड बडादसैँका समयमा धेरैका घरमा मासुका परिकारहरू पाक्ने गर्दछन् । दसैँमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह,र पेट जन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने, तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या वृद्धि हुन सक्छ । 

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा यसबाट रोगलाई बढवा दिने बाहेक अन्य केही पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरासमेत बढ्न सक्ने चिकित्सकहरु  बताउँछन् । मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ । मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम, र फस्फोरस जस्ता खनिज तत्व पनि मासुमा पाइन्छ । भिटामिन बी समूह फायमिन, नायोसिन र रियोफेविन मासुमा पाइन्छ । दसैँमा अधिकांश व्यक्तिहरूले अत्यधिक मासुको प्रयोग गर्ने हुँदा यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्ने गर्दछ भन्ने विषयमा केन्द्रीतभई पोषण क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल स्वास्थ्य तथा जनसख्यका निरीक्षक डाक्टर टपेन्द्र शाहसँग चक्रपथकर्मी युवराज ढुङ्गेलले गर्नु भएको कुराकानी :

पोषण भनेको के हो ?

शरीरलाई शक्ति दिने तथा शारीरिक वृद्धिको लागि आवश्यक पर्ने खानेकुरा नै पोषण हो । पोषण भनेको व्यक्तिले खाना खाने, पाचन गर्ने तथा उक्त खाना सोसेर शरीरमा टुटफुट भएका तन्तुहरूको मर्मत गर्ने र शरीरको वृद्धि प्रवर्द्धन गर्ने क्रमबद्ध प्रकृया हो । कार्बोहाइड्रेट , पे्रटिन, चिल्लो पदार्थ आदि इत्यादि यसको स्रोत हुन् ।

पोषण युक्त खाना कसरी तयार गर्ने  ?
खान नपाएर भन्दा पनि खान नजाने र मान्छेहरूको मृत्यु भएको पाइन्छ । आज खान पाए भन्दैमा पुरै खाने र भोलिपल्ट पेटमा पटुका कसेर हिँड्ने नेपालीको प्रवृत्ति नराम्रो छ । खानामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट युक्त खानेकुरा खान सकिन्छ । साग सब्जी, दूध, दही, माछा, मासु, गेडा, गुडी भात, ढिडोको मात्रा मिलाएर पोषण युक्त खाना तयार गर्न सकिन्छ ।

दसैँमा बढी रुपमा मासु जन्य परीकारको प्रयोग गरिन्छ, यो सही हो या गलत ?
नेपाली समुदायमा यस्ता पर्वहरूमा बिहानदेखि बेलुकासम्म मासु, अलकुहल जस्ता कुरा बढी मात्रामा प्रयोग गरेको पाइन्छ । जहाँ दूध, सागसब्जी, हरिया सलादहरू केही राखिँदैन, त्यसैले यो गलत प्रवृत्ति हो । दसैँमा मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ । मासुमा अत्यधिक रुपमा पौष्टिक आहार पाइन्छ । जसमा पर्याप्त मात्रमा प्रोटिन, जिङ्क, भिटामिन बी पोटासियम जस्ता तत्त्व पाइन्छ । जसले मानिसको शरीरलाई शक्ति प्रदान गर्ने मद्दत गर्ने गर्दछ । तर मात्रा मिलाएर खान जानिएन वा दसैँमा पनि नखाए कहिले खाने भनेर धेरै खाइयो भने यसले स्वास्थ्यमा नराम्रो असर गर्छ ।

मासु कसरी खान सकिन्छ ?

मासु खाने तरिकाहरू धेरै छन् सफासँग पखालेको र पुरा पाकेको मासु मात्र खाने  बानी बसाल्नु पर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नुपर्छ । मासुसँगै हरियो सलादहरूको प्रयोग गर्नू पर्दछ । मासुलाई पञ्चाउन मदत गर्ने पिय पदार्थहरूको सेवन गर्नुपर्छ । 
बोसो तथा छालारहित मासु खाने गरेमा त्यसले हानी कम गर्छ । रगत पकाएर खाने प्रचलन भए पनि त्यसले खासै फाइदा गर्दैन । मासु र अन्य परिकार नपाक्दा त्यसलाई स्वास्थ्यकर ढङ्गले नराख्दा खानेकुरा विषाक्त हुन सक्दछ ।

मासु कस्ता रोगीले खान हुन्न ?

दसैँमा मासुको अत्यधिक प्रयोग गर्नाले केही रोगीहरूलाई विष बन्न सक्छ । यस्ता रोगीले मासुको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्छ । विशेष गरीउच्च रक्तचाप, मुटु रोग,मिर्गौला रोग,मधुमेह,युरिक एसिड,कोलेस्ट्रोल बढ्ने,
मोटोपन,कब्जियत,क्यान्सर,ग्यासट्राइटिस । जस्ता दिर्घरोगीहरुले मासुको अत्यधिक प्रयोग गर्नुहुँदैन ।  अमेरिका तथा युरोपमा विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेको अध्ययन अनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने देखिएको छ । यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने  र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ । धेरै मासु खाँदा शरीरमा भएको विभिन्न बलिया हडि कमजोर हुने, हाड जोर्नी सम्बन्धी रोग, महिला स्तन क्यान्सरको खतरा हुनुका साथै महिला—पुरुष दुवैको शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्न सक्ने देखाएको छ । 

तेलमा तारेको, पोलेको मासुले स्वास्थ्यमा कतिको असर गर्दछ ?

काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना अधिक हुन्छ । पोलेका जुन सुकै चिजहरू हुन् ती बाट टाढै रहन अनुरोध गर्दछु । मासु, सेकुवा, हाकु छोइला सेकेसम्म नखाएकै राम्रो हुन्छ । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुवाँबाट विषाक्तता बन्ने सम्भावना अत्यधिक हुन्छ । मासु पोल्दा र सुख्या हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रो कार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । अधिक रुपमा बोसो र तेल रहित खानामा जोड दिनु पर्दछ । 

मासुलाई कसरी सुरक्षित र सफा राख्न सकिन्छ ?

मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनु हुन्न ।

मासुलाई छुटाएर राख्दा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ ।

मासुलाई लामो समयसम्म पकाउनु पर्दछ ।

कहिले पनि पनि मासुलाई खुल्ला वा झिँगा भन्कने ठाउँमा राख्नु हुँदैन । मासु राख्दा अनिवार्य छोप्नु पर्दछ ।

सुरक्षित साथ फ्रिजमा राख्ने ।

पाकेको मासुलाई नपाकेको खानेकुराको छेउमा राख्नु हुँदैन यसबाट कीटाणु सर्ने प्रबल सम्भावना हुन्छ ।

आन्द्रा भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ ।

आगो माथि वा धुवाँले भेट्ने गरी मासु राख्न हुन्न ।

कसरी पकाएको मासु खाने, कुन नखाने ?
राम्ररी पखालेको र पाकेको मासु मात्र खाने ।
धेरै मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने ।
बोसो र छालारहित मासु प्रयोगमा जोड दिने ।
लामो समयसम्म फ्रिजमा राखेको मासु नखाने ।
बासी तथा खुल्ला ठाउँमा राखेको मासु नखाने ।
काँचो नपाकेको मासु खान हुँदैन, किनभने काँचो मासु नै रोगको भण्डार हो ।
पोलेको मासुहरू सकेसम्म नखाने ।

मासुबाट व्यक्तिमा रोग कसरी सर्दछ ?
अस्वास्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा ।
मासु काट्ने स्थान, अचानो, चक्कु र हतियार सफा नभएमा ।
सडे गलेका मासुमा लोभिएमा ।
फ्रिजमा राम्रो भण्डारण प्रक्रिया नअप्नाउदा ।
फ्रिजमा नराखेको वा बाहिर राखेको मासु खाएमा ।
काँचो, नपाकेको र पोलेको कालो, मासु खाएमा ।
धूवाँ माथि झुन्डाएर राखेको मासु खाएमा ।

खसी बोका छान्दा के कुरामा ध्यान दिने ?

स्वास्थ्यकर पशुहरू ल्याउने काम सरकारको हो भने स्वास्थ्य लाभदायक पशुपन्छीको छनौट गर्ने उपभोक्ताको जिम्मेवारी हो । हामीले साना तिना आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ ।

अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्र्याएर बसेको लगायत अस्वस्थ कर देखिएमा त्यस्ता खासी बोका किन्नु हुँदैन ।

पसलबाट मासु किन्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ?

नेपालमा धेरै मासु पसलहरू वैज्ञानिक तरवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरबाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने गरेको छ ।
पसलका फ्रिज बाहिरका मासु नकिन्ने ।

मासु काट्ने सामाग्रीहरू सफा भए नभएको हेर्ने ।
समग्रमा पशुपन्छीको वधशाला फोहरमुक्त र सुरक्षित छ कि छैन भनी बुझ्ने र अवलोकन गर्ने गर्नुपर्दछ ।

दसैँमा सन्तुलन भोजन कसरी तयार पार्न सकिन्छ ?

मानिसको वृद्धि र विकासमा एउटा मात्र प्रोटिन तत्त्वले प्रभाव पार्न सक्दैन, त्यसका लागि कार्वोहाइडेट, प्रोटिन, चिल्लो पदार्थ, पौष्टिक आहार, फलाम, जिङ्क, इत्यादिको आवश्यकता पर्दछ । पौष्टिक तत्त्वहरू धेरै भए पनि स्वास्थ्यमा असर पुराउँछ र कम भएमा पनि हानि गर्दछ । त्यसैले सबै कुराहरूको सन्तुलन मिलाएर खाना खानु पर्दछ । सागसब्जी, माछा मासु सलाद पहेँला फलफूलहरू गेडागुडी जस्ता पौष्टिक तत्त्वहरूको सन्तुलन मिलाएर हामी दैनिक रुपमा सन्तुलित भोजन खान सक्छौँ ।

दसैँको उपलक्षमा  पाठकहरुलाई  के सन्देश दिन चाहनु हुन्छ ?

देश तथा विदेशमा रहनु हुने समस्त नेपालीहरुमा  बडादसैँको हार्दिक मङ्गलमय शुभकामना  भन्न चाहान्छु । दसैँमा स्वस्थ रहनु मस्त रहनु, आफ्नो हैसियत अनुसारका पर्व मनाउन अनुरोध गर्दछु । धूम्रपान र मध्यापन जस्ता कुराहरूबाट टाढै रहनु होला । सन्तुलित भोजन र पौष्टिक तत्त्वहरूमा सन्तुलन कायम गर्नु र अधिक रुपमा मासुको प्रयोग नगर्नु भन्न चाहन्छु । हरिया साग पात र पहेला फलफूल र साहकारी भोजनमा जोड् दिनु होला ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ११ : ५४ बजे