काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालले पशुपक्षी उत्पादनको क्षेत्रमा धेरै ठुलो फड्को मारिरहेको छ । दसैँमा ठुलो मात्रामा पशुपन्क्षीहरु नेपालमा आयात गरिरहेको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदी भने यही अनुपातमा पशुपक्षी पालनको अवस्था सुधार भएमा नेपालले आगामी वर्षदेखि पशुपन्क्षीको आयात नगर्ने अवस्थामा पुग्ने बताउनुहुन्छ । मुलुकभित्र खाद्ययसंकट नहोस् भनी कामगरीरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदी सँग नेपाले खाद्यान्न, पशुपक्षी र तरकारीमा आत्मा निर्भर हुन चालिरहेका कदम र भविष्यमा नेपालमा खाद्य सङ्कट हुन नदिन कस्तो योजना बनाउँन आवश्यक छ भनी विविध विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
के हो खाद्य सुरक्षा भनेको ?
सबै मानिसको पर्याप्त मात्रामा पोषणयुक्त खाद्य पदार्थ प्राप्त गर्नु, देशमा कोही पनि भोको नरहनु, आर्थिक, सामाजिक र भौतिक पहुँच, उपलब्धता र उपयोगको सुनिश्चितताको अवस्था नै खाद्य सुरक्षा हो । सबैले खान पाउनु पर्छ, खाद्यान्नको अभावमा कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन र उपलब्ध खाद्यवस्तु स्वास्थ्यका दृष्टिले स्वास्थ्य अनि पोसिलो हुनु पर्छ भन्ने मान्यता खाद्य सुरक्षाको हो । सामान्य भाषामा भन्नुपर्दा खाद्य सुरक्षा भन्नाले खानाको लागि चिन्ता लिनु नपर्ने अवस्था हो । मानिसले पोषणयुक्त तथा सांस्कृतिक रूपले प्राप्त भइरहेको खाना खान पाउनु र खानाका लागि कुनै चिन्ता नहुनुलाई खाद्य सुरक्षा भन्न सकिन्छ । खाद्य सुरक्षाको अवधारणा सन् १९७० को दशकमा विकसित भएको हो । सन् १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा हुने विश्वव्यापी आपूर्ति भनी परिभाषित गरेको छ ।
नेपालमा खाद्य सुरक्षा कुन अवस्थामा रहेको छ ?
नेपालको खाद्य सुरक्षाको स्थितिलाई हेर्ने हो भने नेपाल कृषि प्रधान मुलुक भएर पनि हरेक व्यक्तिलाई आवश्यकता अनुसारको खाद्यान्न उपलब्ध हुन नसकेको अवस्था छ । नेपालको भौगोलिक क्षेत्रमा यो समस्या केही बढी नै छ । नेपालका दुर्गम भेगका पश्चिम ठाउँका बालबालिकाहरू कुपोषणबाट पीडित छन् । करिब ४० लाखभन्दा बढी बालबालिकाले पोषणयुक्त खाना खान नपाएको अवस्था छ भने धेरै बालबालिकाले आफ्नो स्वास्थ्य, उमेर, तौल, उचाइ अनुसार खाना तथा पोषकतत्व नपाएको अवस्था छ । यस्तै, सहरी क्षेत्रमा खान पाएर भन्दा खान नजानेर नै खाद्य सुरक्षाको ज्ञान नहुँदा धेरै मानिसले खानामा राम्रो पौँच हुँदा हुँदै पनि पोषणयुक्त, स्वास्थ्यका दृष्टिले उचित खाना खाने गरेका छैनन् । समग्रमा भन्नपर्दा नेपालमा खाद्य सुरक्षाका बारेमा धेरै नै काम गर्नुपर्ने देखिन्छ । खाद्य उपलब्धता सबै ठाउँमा समान रूपले पर्याप्त मात्रामा हुन सकिरहेको छैन ।
खाद्यान्नको नजरबाट हेर्दा पहिलाको नेपाल र अहिलेको नेपालमा कस्तो भिन्नता पाउनु भएको छ ?
नेपाल पहिले भन्दा अहिले खाद्यान्नका लागी धेरै नै निर्भर रहेको छ । देशका उर्वर जनशक्ति वैदेशिक रोजगारीको खोजीमा विदेशीन बाध्य छन् जसले गर्दा नेपालको उब्जाउ भूमि बाँझो भएका छन् । पहिला खानु मात्र आवश्यकता थियो तर अहिले समय परिवर्तनसँगै आवश्यकता थपिँदै जान थालेको छ । देशको खाद्यान्न सङ्कटलाई पुरा गर्न छिमेकी देश र तेस्रो मुलुकबाट खाद्यान्नको आयात गरिने, बाहिरबाट धेरै नै खाने कुराहरू आउने गरेका छन् । भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिँदा झन्डै २४९२४ लाख केजी दक्षिण अमेरिकी देश ब्राजिल र अर्जेन्टिनाबाट अनि साढे तीन लाख केजी दक्षिण अफ्रिकाबाट आएको छ । नेपालको बढ्दो जनसङ्ख्या र कृषि उत्पादनमा कमी भएका कारण अहिले नेपालमा विदेशबाट खाद्यान्न आउने क्रम बढ्दो छ । विशेष गरी भारतबाट तरकारी, मासुका लागि भैँसी, बाख्राहरू समेत ठुलै परिमाणमा भित्रिने गरेको छ ।
पहिले खाद्यान्नको निर्यात हामी पनि गर्ने गर्थ्यौ तर अहिले खाध्यान्नका लागि अरू देशमा निर्भर हुनुपर्ने कारण के हो ?
परापूर्व कालमा नेपाल एक मात्र त्यस्तो देश हो जसले अहिले विश्वका ठुला ठुला देशलाई खाद्यान्न र अन्य वस्तुको निर्यात गर्थ्यो । विश्वले कृषि प्रविधिमा निकै प्रगति गरी सक्दा समेत नेपालमा गरिने कृषि पुरानै ढाँचाले चलिरहेको छ । नेपालमा नयाँ तरिका, नयाँ तथा उन्नत जातका बिउहरू कमै मात्रामा प्रयोग गरिने गर्छ । नेपालका प्राय किसानहरूले प्रयोग गर्ने बिउहरू गाउँघरमा नै बनाइएका हुन्छन् र ती बिउहरू दुई वर्ष भन्दा बढी प्रयोग गर्दा त्यसले खासै राम्रो उत्पादन दिन सक्दैन । यस्तै, कृषि क्षेत्रमा सरकारी नीति पनि त्यति प्रभावकारी छैन भन्नलाई नेपाल एक कृषि प्रधान देश भनिन्छ तर यसको अर्थ भिन्न रहेको छ भने यदि कसैले राम्रो खाद्यान्न उत्पादन गरे पनि त्यसले उचित बजार पाइरहेको छैन । बजार अभावका कारणले पनि कृषकहरूमा कृषिप्रतिको मोह घटेको छ भने जनसङ्ख्याको बुद्धिसँगै सहरी करण बढेको खाद्यान्नको माग पूर्तिका लागी अन्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ ।
अरू बेला भन्दा दशैको बेला खाद्यान्न र पशुपन्छीको माग निकै बढ्ने देखिन्छ, यस्तो मागहरूलाई सन्तुलन गर्न कस्ता कस्ता योजना रहेका छन् ?
बजार व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा मासुको उत्पादन वार्षिक ३४०००० मेट्रिक टन मात्र छ । यसले मागको २० प्रतिशत मात्र हिस्सा ओगट्न सकेको छ । खसीको मासुको माग परिपूर्ति गर्न बर्सेनि ४ देखि ५ लाख बाख्रा तथा खसी भारतबाट आयात हुँदै आएकाका छन्, जुन कुल मागको १२–१५ प्रतिशत हुन आउँछ । यो बाहेक पनि तेस्रो मुलुकबाट बर्सेनि फ्रोजन मासुको आयात हुँदै आएको छ । तर पछिल्लो सममयमा भने नेपाल पनि हाल आएर १५ प्रतिशतभन्दा धेरै खसी बोकाको उत्पादन व्यावसायिक किसानहरूबाट हुने गरेको छ । क्रमिक रुपमा आफूलाई आत्मा निर्भर साबित गर्ने बाटोमा अगाडि बढिरहेको छ । उपभोक्ताहरूलाई कुनै किसिमको खाद्य अभाव नरहोस् भनेर नेपालमा उत्पादन भएका उपभोग्य वस्तुहरूलाई उच्च प्राथमिकता राखेर निर्यात गरिएको छ । भारतबाट खसी बोका अन्य पशुहरू ल्याउने तयारी भएको छ । भारत, चीन र भुटान जस्ता अन्य तेस्रा मुलुकबाट थप खाद्यान्न र पशुपन्क्षी ल्याउने र नेपालका जनतालाई सहुलियतमा उपलब्ध गराउने हाम्रो तयारी भई रहेको छ । नेपालको व्यापार घाटा रहे पनि माग अनुसार निर्यात गर्नु पर्ने हाम्रो बाध्यता छ । विश्व खाद्य सङ्गठनको २०१० को अध्ययन प्रतिवेदनअनुसार, नेपालको वार्षिक मासु खपत ११ किलो प्रतिव्यक्ति छ, जबकि विश्वको औसत ४२.५ किलो प्रतिव्यक्ति छ ।
नेपालमा मासुको आयात निर्यातको अवस्था कस्तो छ ?
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा मासु उत्पादन करिब २८ हजार मेट्रिक टनले बढेपछि आयातमा कमी आएको हो । नेपालले पशुपन्क्षीको क्षेत्रमा निकै ठुलो प्रगति गरिरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा २ अर्ब ६७ करोड ५२ लाख ३५ हजार रुपैयाँ बराबरको मासु आयात भएको थियो । जबकि अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३१ करोड १४ लाख ५९ हजार रुपैयाँको आयात भएको थियो । खसी तथा बोकाको मासु ३ अर्ब ३१ करोड ५ लाख ४८ हजार रुपैयाँ बराबरको, भेडा तथा च्याङ्ग्राको मासु ८ हजार रुपैयाँ बराबर र राँगाको ९१ लाख १० हजार रुपैयाँ बराबरको मासु आयात भएको थियो । मासुको निर्यात भने नेपालले गरेको त्यस्तो कुनै रेकर्ड छैन आशा । यही रुपमा वृद्धि हुने हो भने अर्को आर्थिक वर्षमा नेपालले पनि निर्यात गर्ने छ।
नेपाली किसानहरूले उत्पादन गरेको तरकारी, फलफूल ,खाद्यान्न र पशुपक्षीले बजार नपाएर रोइ रहेका छन् यो विषयमा के भन्न चाहनुहुन्छ ?
मुख्य कुरा के हो भने भौगोलिक विकटताको कारण नै रहेको छ । सबै ठाउँमा विकास नपुगेको र बाटोको स्तर नपुगेकाले त्यहासम्म उत्पादनका वस्तुहरू सहरी क्षेत्र र अन्य ठाउँमा पुराउन निकै खर्च लाग्ने हुँदा नेपाली किसानले उपयुक्त बजार नपाएको, किसानलाई प्रवर्द्धन गर्नुको सट्टा कृषिलाई बिचौलियाको जिम्मामा छोड्दा तरकारी आयातमा भर पर्नुपरेको हो । साना किसानको तरकारी बजारसम्म ल्याउने बलियो संयन्त्र नहुँदा यहाँको तरकारी खेर जाने तर भारतबाट सजिलै आउने गरेको छ । र बजार पाए पनि दलालीहरूले किन्दा सस्तो अनि बेच्दा महँगोमा बेच्ने हुनाले नेपाली बजारले ठाउँ नपाएको जस्ता मलाई लाग्दछ । नेपाली बजारलाई सन्तुलन कायम राख्न हामी दिन रात लागिरहेका छौ र नेपाल सरकारले पनि सहयोग गरेको छ । हिमालदेखि तराईसम्मै उत्पादन हुने आलुमा नै नेपाल परनिर्भर छ । लसुन, प्याज, कागतीसहितका विभिन्न बेमौसमी तरकारीको ठूलो हिस्सा पनि भारत तथा चीनबाट आउँछ । चालु आर्थिक वर्षको चैतसम्ममा रु. २ अर्ब ७० करोडको प्याज आयात भएको छ । त्यस्तै, रु। ४६ करोडको कागती आयात भएको छ ।
सरकारले प्याज, कागती जस्ता खेतीका लागि पकेट क्षेत्र घोषणा गरे पनि उत्पादन खासै बढेको छैन । त्यसैले, विदेशी तरकारीलाई विस्थापन गर्न सुरुमा उत्पादन नै बढाउन आवश्यक छ ।
नेपालमा खाद्य सुरक्षाका चुनौतीहरू के के छन् ?
नेपालमा उत्पादित खाद्यान्नले पनि उचित बजार पाउन सकेको छैन । खाद्यान्न वितरणका लागि आवश्यक पर्ने यातायातको असुविधा, बजारमा सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनु पर्ने अवस्था, प्रतिस्पर्धाको बजारका कारण पनि कृषि उत्पादनमा कमी आइरहेको छ भने उत्पादनको कमी हुने भएपछि त्यसको सोझो असर खाद्य सुरक्षामा पर्न जान्छ । विदेशबाट आउने खाद्यान्न किन्न सक्ने क्षमता तथा त्यससम्म पुग्न सक्ने पौँचले पनि खाद्य सुरक्षालाई प्रत्यक्ष रूपमा असर गर्ने गर्छ । खाद्य सुरक्षा सम्बन्धी व्यवस्था भएका नीतिगत, कानुनी र संरचनागत व्यवस्थाहरू व्यवहारतः लागु हुन नसक्नु,भौगोलिक विकटता हुनु जसका कारण आपूर्ति र बजार व्यवस्थापन गर्न कठिनाइ,उन्नत मल, बीउ, रासायनिक औषधीहरू समयमा नै पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिनु हाम्रो समस्याहरू छन् । त्यसै गरी कृषि सम्बन्धी प्राविधिक ज्ञान सीप सर्वसुलभ रूपमा उपलब्ध हुन नसक्नु,सिँचाई सुविधा सबै ठाउँमा पुग्न नसक्नु जसका कारण कृषि कार्यका लागि मनसुनमा भर पर्नु पर्ने बाध्यता छ । जग्गा जमिनको खण्डीकरण गर्ने कार्य तीव्र रूपमा बढी रहेको छ , जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कृषि क्षेत्रमा पर्न थालेको छ,कृषि अनुसन्धान कार्यले गति पाउन सकिरहेको छैन, युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन हुँदा कृषि कार्य प्राथमिकतामा गर्न छोडेको छ । खाद्य व्यवस्थापन सूचना प्रणालीको व्यवस्था भएको छैन, खाद्य असुरक्षित क्षेत्रको उचित पहिचान हुन सकिरहेको छैन, कृषि कार्य निर्वाहमुखी मात्र छ, यसलाई व्यवसायीकरण गर्न सकिएको छैन, कृषि क्षेत्रको वार्षिक बजेट अपेक्षित मात्रामा वृद्धि हुन नसक्नु जस्ता थुर्पै चुनौती छन् हामीसँग ।
विश्व बजार र नेपाली बजारमा खाद्य सुरक्षामा कतिको फरक छ ?
नेपाल सरकारको यो पक्षमा ध्यान जानुअतिनै आवश्यकता रहेको छ । खाद्यान्नको अभावमा मानव शरीरलाई आवश्यक पोषण तत्त्वको कमी भई मानिस अस्वस्थ हुन जान्छ । देशको सम्पत्ति मानव पुँजी नै राष्ट्रिय विकास र समृद्धिको संवाहक हुनाले खाद्य सुरक्षा केवल मानव सुरक्षासँग मात्र होइन सिङ्गो विकास प्रणालीसँग जोडिन्छ ।
नेपाली बजारमा खाद्य सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन जे कुरामा पनि कमिसन, र सडे गलेका उपभोग्य वस्तु कम पैसामा बेच्ने र उपभोक्ता नबुझीकन खुसी हुने र किन्ने गरेको पाइन्छ तर विदेशमा भने खाद्य सुरक्षामा निकै ध्यान दिने गरिन्छ । विदेशी मुलुक विषेशगरी युरोपेली तथा विकसित देशहरूमा खाद्य सामग्रीहरूमा गुणस्तरको ग्यारेन्टी गरिएको हुन्छ जुन हाम्रो देशमा छैन । यस्तै, विदेशमा खाद्यान्न वितरणका लागि छुट्टै कार्डहरूको समेत व्यवस्था गरिएको हुन्छ । गरिबहरूका लागी निकै सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ । हाम्रो छिमेकी मुलुक भारतलाई नै हेर्ने हो भने भारतमा राशन कार्ड भनेर छुट्टै कार्ड दिने गरिन्छ । उक्त कार्ड देखाएर खाद्यान्न किन्दा निकै सस्तो मूल्यमा खाद्यान्न किन्न सकिन्छ भने विदेशमा बेरोजगार, असहाय, दिन दुःखीहरूका लागि समेत छुट्टै व्यवस्था गरिएको हुन्छ तर नेपालमा यस्ता विषयमा कसैको ध्यान गएको छैन । नेपालमा सुपथ मूल्यका पसलहरू भनेर त खुलेका छन् तर तीनमा पनि प्रभावकारी अनुगमन नहुँदा जनतालाई ठग्ने काम मात्र भएको पाइन्छ । नेपाली बजारलाई व्यवस्थित गराउन नेपाल सरकार मात्र लागेर हुन्न यसका लागि हामी आम जनतानै सचेत हुनु पर्दछ नत्र भने यो खाद्यान्न सङ्कटको विकराल रूप नहोला भन्न सकिँदैन ।
अन्त्यमा हाम्रा उपभोक्ता पाठकहरूलाई के सन्देश दिन चाहानु हुन्छ ?
सकेसम्म आफ्नै स्थानीय स्तरमा उपलब्ध रहेको वस्तुहरूको उपभोग गर्नुनुहाेला स्वदेशी मन र मनको नारा लिनुहोला र कृषि क्षेत्रलाई सहयोग गर्नु होला, स्वदेशमै केही गर्ने कोसिस गर्नु होला कृषि क्षेत्रका धेरै प्रविधिहरू नेपालमा आइसकेका छन् त्यसलाई प्रयोग गरी आत्मा निर्भर बन्नु हुन अनुरोध गर्दछु । सक्षम र स्वास्थ्य जीवन निर्वाहका लागि खाद्यान्नको पर्याप्त मात्रामा उपलब्धताको अवस्थालाई सुनिश्चित गर्न खाद्य सुरक्षा र भविष्यको निर्विकल्प समाधान हुने कुरा नकार्न सकिँदैन । नेपालको उत्पादन गाउँमा रहेको तर, ढुवानीमा समस्या रहेका कारण मासु आयात गर्न नसकेकोमा अब यस्ता समस्याहरू चाडै नै समाधान गरी मुलुकको व्यापार घाटालाई निर्मूल बनाउनु पर्दछ । साँघुरिँदो कृषि क्षेत्र र विस्तारित जनसङ्ख्याको बिचमा उचित तालमेल मिलाई उत्पादन र उत्पादकत्व बढाउन सक्नु समय सान्दर्भिक हुन सक्ने र सो कार्यका लागि खाद्यान्न प्रणालीमा किसानहरू जोड्न निकै अनिवार्य र आवश्यकता रहेको छ । आयातमा प्रतिबन्ध लगाउनुभन्दा नेपालका किसानलाई पनि मल, बीउ, कृषि औजार तथा सिंचाइमा सरकारले सहुलियत दिएर प्रतिस्पर्धी उत्पादन गर्नुपर्छ । नेपालमै सस्तोमा तरकारी उत्पादन गर्न सके भारतीय तरकारी आफैँ विस्थापित हुन्छन् ।
प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार २ : ०३ बजे
प्रतिक्रिया