मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौं  । राष्ट्रपति विद्यादेवी  भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको छ ।

नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । 

 समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै  राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो । 

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना  समारोहमा सहभागी हुनुभयो ।
 मन्त्रिगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव समारोहमा उपस्थित हुनुहुन्थ्यो । 

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभयो । फूूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ५९ बजे